धरान : नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले सञ्चालनमा आउन बाँकी धरान-८ मा नव निर्मित नयाँ बसपार्कमा एमालेको नेतृत्वमा बनेको दाबी गरेकी छन् । उपमहानगरपालिका पूर्व उपमेयर समेत रहेकी उनले पार्टीको पालामा बनेकोले ‘मैयानी हक’ रहने सम्म बताइन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले,सुनसरी १ का उम्मेदवार टिकाराम लिम्बूको प्रतिबद्धता पत्र सार्वजनिक गर्न मङ्गलवार आयोजित कार्यक्रममा धरानको विकास निर्माणमा एमालेको भूमिकाको जिकिर गर्दै उनले त्यस्तो दाबी गरेकी हुन ।

भण्डारीले भनिन् “इनिसिएसन मात्र होइन, बसपार्कमा एमालेले मैयानी हक नै राख्ने कुराको प्रमाण  यस सम्बन्धी प्रमाणिक तथ्य स्थानीय सरकारका आधिकारिक अभिलेख र निर्णयपत्रले स्पष्ट हुन्छ ।’ एमालेको पालामा सुरु भएको बसपार्क नेपाली काँग्रेस र स्वतन्त्र नगर प्रमुख हुँदा सम्म निर्माण सम्पन्न भए पनि सञ्चालन भने हुन सकेको छैन ।

यसबारे बसपार्कजस्तो संरचनाको स्वामित्व र व्यवस्थापन सरकारी नीति तथा स्थानीय प्रशासनको निर्णयबाट निर्धारण हुने उनको भनाइ थियो ।

भण्डारी कार्यवाहक मेयर हुँदा सुनसरी १ निर्वाचन क्षेत्रको ८२ प्रतिशत भागमा विद्युतीकरण सम्पन्न भइसकेको उनले दाबी गरिन् । जिल्ला भर १०० प्रतिशत विद्युतीकरण र पूर्ण दूरसञ्चार कभरेज लक्ष्य सहित काम अघि बढेको बताइन् । टेलिफोन टावर वा पोल अभाव रहेका क्षेत्रहरू थप्न नेपाल टेलिकमसँग समन्वय भएको बताईन ।

२२ बुँदे पर्यटन केन्द्रित प्रतिबद्धता
कार्यक्रममा एमालेले सुनसरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार टिकाराम लिम्बूलाई जिताउन २२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।प्रतिबद्धता पत्रमा केबलकारदेखि जङ्गल सफारीसम्मका दीर्घकालीन पर्यटन योजना समेटिएका छन्। सुनसरी क्षेत्र १ का पर्यटकीय क्षेत्रको एकीकृत पर्यटन गुरुयोजना तयार गरी आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

धरतीकै पहिलो तीर्थस्थल मानिने वराहक्षेत्रको प्रवर्द्धन, पूर्ण सुरक्षा तथा सौन्दर्यीकरण गर्दै सहज आवागमनका लागि सुविधा सम्पन्न सडक निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।

चतरा सूर्यकुण्ड सडक निर्माण सम्पन्न गरी सूर्य कुण्डको संरक्षण, संवर्द्धन तथा यस क्षेत्रको कृषि र होमस्टे प्रवर्द्धन, धरानबाट भेडेटार हुँदै नाम्जेसम्म सञ्चालन गर्ने प्रस्तावित केबलकार निर्माणका लागि सार्वजनिक निजी साझेदारी नीतिअन्तर्गत सहजीकरण गरिने उल्लेख छ । उपयुक्त स्थानहरूमा पर्यटन सूचना केन्द्र तथा रिफ्रेसमेन्ट सेन्टर निर्माण गरिने योजना पनि समेटिएको छ ।

रासतालदेखि अमाहा सिमसारसम्म जङ्गल सफारी मार्ग निर्माण, भेडेटारदेखि जामुने, सेर्गे हुँदै हर्दिया जोड्ने मार्ग निर्माण तथा व्यवस्थापन गरिने प्रतिबद्धता गरिएको छ । पर्यटन केन्द्रित पदमार्गहरू बृहत्तर वराहक्षेत्र परिक्रमा मार्ग, विजयपुर गढीदेखि साँगुरी गढी सम्मको युनिफिकेसन ट्रेल पदमार्ग र विजयपुर परिक्रमा मार्ग निर्माण गर्ने योजना छ ।

विगतमा एमालेको पहल र समन्वयमा धरान लेउती सुरुङ मार्गको सम्भाव्यता अध्ययन नेपाल सरकारबाट सम्पन्न भई प्राथमिकता नम्बर १ मा राखिएको उल्लेख छ । रास ताल, शङ्कर बेली सिमसार र अमाहा सिमसार हुँदै सम्पूर्ण तराईलाई धरानसँग जोड्ने रणनीतिक महत्वका सडक निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।

हर्दियामा निर्माण सुरु गरिएको मनमोहन स्मृति पार्क, धरान १७ स्थित सप्तरङ्गी पार्क र धरान २० मा निर्माणाधीन गोर्खा स्मृति पार्क सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।