धरान : खेलकुदको शहर धरानमा दोस्रो आईबिए प्रो एण्ड एमेच्योर ‘धरान फाइट नाइट’ आयोजना हुने भएको छ।

प्रतियोगिता माघ २३ गते धरान–१५ स्थित किरात याक्थुम चुम्लुङमा हुने भएको छ।

सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत धरान बक्सिङ क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिने जानकारी दिइएको हो।

बक्सिङको विश्व सङ्घ आईबिएबाट मान्यता प्राप्त प्रो बक्सिङ सो प्रतियोगिता ‘फाइट नाइट’मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेका अनुभवी पेशेवर बक्सरहरूका साथै उदाउँदा एमेच्योर खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रम अन्तर्गत प्रोफेसनल तथा एमेच्योर गरी विभिन्न तौल समूहमा रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

५७ केजी तौल समूहमा सिंगाबीर लिम्बु र एपीएफका प्रदीप महर्जनबिच प्रतिस्पर्धा हुनेछ। गत वर्षको खेलमा लिम्बुले आर्मीका खेलाडीलाई पराजित गरेका थिए भने महर्जन अन्तर्राष्ट्रिय स्तरका पदक विजेता खेलाडी हुन्।

५१ केजी महिला तौल समूहमा रमिशा श्रेष्ठ र एपीएफकी नान्जा बुढा मगर आमनेसामने हुनेछन्। दुवै खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितिसकेका अनुभवी बक्सर हुन्।

६३ केजी तौल समूहमा धरान बक्सिङ क्लबका मनिष भुजेल र नक्साल बक्सिङ क्लबका बिबाश तामाङबिच प्रतिस्पर्धा हुनेछ।

त्यसै गरी ८० केजी ९भारी तौल० समूहमा नेपाल पुलिस क्लबका प्रदीप पौडेल र बक्समन्धु बक्सिङ क्लबका मनोज तामाङ भिड्नेछन्। तामाङले यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

प्रतियोगितामा पेशेवर खेलसँगै एमेच्योर खेलहरू पनि समावेश गरिएको छ। एमेच्योरतर्फ विद्यालय स्तर, युवा र एलिट गरी तीन डिभिजनमा प्रतिस्पर्धा हुनेछ।

विद्यालय स्तर ६३ केजीबाट नामसाङ लिम्बु र रमेश श्रेष्ठ,युवा डिभिजन ६३ केजी अन्तर्गत मौसम राई धरान र अभिनाश राई धनकुटा,एलिट डिभिजन ६३.५ केजी युनिक राई र वाङदी शेर्पा बिच हुने भएको छ ।

एलिट डिभिजनका दुवै खेलाडी धरान युवा च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेका खेलाडी हुन्। प्रतियोगितामा कुल १४ खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

‘फाइट नाइट’ मा प्रो फाईटका विजेताले नगद पुरस्कार ५० हजार र उपविजेताले नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यसै गरी एमेच्योर खेलतर्फ विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

धरान बक्सिङ क्लबका अध्यक्ष दीपक राईले बक्सिङ खेललाई व्यावसायिक बनाउने उद्देश्यले धरानमा पहिलो पटक प्रो बक्सिङ च्यालेञ्ज प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

उनका अनुसार ‘फाइट नाइट २०२६’ विश्वभर लोकप्रिय व्यावसायिक च्यालेञ्ज बक्सिङ इभेन्ट हो। सम्मेलनमा धरानका अग्रज बक्सरहरू ओलम्पियन नरेन्द्र पोमा, वरिष्ठ प्रशिक्षक अनुप लामा, विनोद राई उपस्थित रहेका थिए ।

धरानको बक्सिङको विकासका लागि संघले धरानमा विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई निःशुल्क प्रशिक्षणहरू दिइरहेको, धनकुटाका खेलाडीहरूलाई धरानमै आवासीय व्यवस्था सहित तालिम प्रदान गरिरहेको र भविष्यमा धरानलाई बक्सिङको क्षेत्रमा फरक पहिचान बनाउने उद्देश्य सहित काम गरिरहेको धरान बक्सिङ संघका सचिव महेश आले मगरले जानकारी दिए ।

IMG-20260119-WA0021