धरान : नेपाल विद्यार्थी संघ (नेविसंघ)को कोशी प्रदेश अध्यक्ष पदमा दोर्ची शेर्पा मनोनित भएका छन्। रिक्त रहेको उक्त पदमा संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विधानअनुसार उनलाई जिम्मेवारी प्रदान गरेका हुन्।

नेविसंघमा लामो समयदेखि सक्रिय शेर्पाले २०६८ सालमा साधारण सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै उनले आफूलाई सक्रिय युवा नेताका रूपमा स्थापित गरेका छन्।

२०६९ सालमा महेन्द्र बहुमुखी क्याम्पस, धरानमा सदस्य बनेका शेर्पा २०७२ सालमा इकाई समितिको सह–सचिवमा निर्वाचित भएका थिए। २०७३ सालमा स्ववियु सचिवमा निर्वाचित भएपछि उनले विद्यार्थी हक हितको संरक्षण, शैक्षिक सुधार तथा संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

२०७५ सालमा क्याम्पस इकाई समितिको कार्यवाहक अध्यक्ष बनेका उनी २०८० सालमा नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका थिए। विद्यार्थी राजनीतिसँगै उनी २०६९ सालदेखि नेपाली कांग्रेसका क्रियाशील सदस्य पनि रहेका छन्।

२०७९ सालको नेपाली कांग्रेस महाधिवेशनमा कोशी प्रदेशको खुल्लातर्फबाट पहिलो नम्बरमा प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका शेर्पाको मनोनयनले कोशी प्रदेशमा नेविसंघलाई थप सशक्त र सक्रिय बनाउने विश्वास लिइएको छ।

dorchi 2