धरान : वीपी प्रतिष्ठानले अस्पतालमा उपचारकालागि ओपिडी पुर्जी काट्ने व्यवस्था अनलाइन प्रणालीमा पनि गरेको छ । यसअघि सञ्चालनमा रहेको बीपीकेआइएचएस मोबाइल एपलाई परिमार्जन गरी नयाँ सेवा सुरु गरिएको हो ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार अनलाइन ओपिडी दर्ता गरेका बिरामीहरूलाई पुर्जी र बिलिङ सेवा अग्र प्राथमिकतामा राखेको छ । समय सापेक्ष प्रविधिको प्रयोग मार्फत सेवाग्राहीलाई सहज, छिटो सेवा पाइने अनुभूतिका लागि मोबाइल एपको परिमार्जित संस्करण सञ्चालनमा ल्याइएको उनले बताए ।

प्रतिष्ठानद्वारा जारी विज्ञप्ति अनुसार सेवाग्राहीहरूले अनलाइनबाट जेनरल ओपिडीको नयाँ दर्ता पाउने छन् । साथै फलोअपका लागि दर्ता गर्दै सोझै ओपीडीमा गएर चिकित्सकलाई देखाउन पाइने भएको छ । अनलाइन दर्ता गरेका बिरामीहरूलाई अनलाइन टोकन प्रणाली र बिलिङ सेवामा अग्र प्राथमिकता दिइएको छ ।

अनलाइन सेवाका लागि एन्ड्राेएड मोबाइलको प्लेस्टोरबाट बीपीकेआइएचएस एप डाउनलोड गर्नु पर्नेछ । प्रारम्भिक चरणमा अनलाइन दर्ता प्रत्येक विभागका लागि दैनिक २० जना मात्र गरिने छ ।

सेवाग्राहीको माग, प्रणालीको कार्यक्षमता प्रयोग अनुभवका आधारमा सङ्ख्या बढाइने बताइएको छ ।

अनलाइन सेवालाई प्रतिष्ठानले प्रयोगशाला तथा रेडियोलोजी सेवाका रिपोर्टहरू अनलाइनबाटै प्राप्त गर्ने सुविधाका लागि पनि विस्तार गर्ने भएको छ । अनलाइनबाट रिपोर्ट हेर्न सकिने प्रिन्ट गर्न सकिने व्यवस्थामा पनि गरिने भएको छ ।

अनलाइन दर्ताको सुविधा पेयिङ्ग ओपिडी दर्ता समेतमा थप्ने तयारी गरिएको छ । स्वास्थ्य बीमाको ओपिडी दर्ता पनि अनलाइनबाटै सञ्चालन गर्न स्वास्थ्य बिमा बोर्डबाट आवश्यक एपीआई श्रोत प्राप्त गर्ने प्रक्रियामा रहेको बताइएको छ ।