धरान : दन्तकाली मिडिया प्रालिको प्रकाशनमा आज आइतवार देखि "बिन्युज नेपाल" नामक न्युज पोर्टल सुरु भएको छ ।
धरान उपमहानगरपालिका कार्यवाहक मेयर अईन्द्रबिक्रम बेघाले औपचारिक रूपमा कार्यालय र स्टुडियो कक्षको उद्घाटन गरेर अनलाइन सुरु गरेका हुन ।
उद्घाटन अवसरमा कावा मेयर बेघाले हिजो के भयो बितेको कुरा अब पुनरावृत्ति नहुने बताउँदै भने "धरान उपमहानगरपालिकामा कोही पनि पत्रकारलाई दुर्व्यवहार हुने छैन ।" प्रेस स्वतन्त्रताको रक्षा र सञ्चार क्षेत्रलाई सम्मान गरिने उनले बताए ।
पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएकोले प्रेस जगतलाई अनुसन्धान, निगरानी र आलोचनात्मक रिपोर्टिङको लागि स्वतन्त्रताको रक्षा स्थानीय सरकार उपमहानगरपालिकाले गर्ने उनको भनाई थियो
बेघाले पत्रकारहरूलाई नगरपालिकाको बजेट, प्रशासनिक खर्च, इन्धन प्रयोग,चिया खर्चदेखि लिएर बजेट विनियोजन सम्मका सबै कुराहरू अनुसन्धान गरी सार्वजनिक गर्न स्वतन्त्र रहेको बताए ।
बेघाले भने अवका दिनमा “मिडियाले मेयर,उपमेयरले कति चिया पिए, कति इन्धन प्रयोग गर्यो, बजेट कहाँ कसरी खर्च भयो, यी सबै बाहिर ल्याउन सक्नुपर्छ। यही नै वास्तविक पारदर्शिता हो।”
पूर्व नगरप्रमुख हर्क साम्पाङको कार्यकालप्रति टिप्पणी गर्दै बेघाले भने,“अघिल्लो कार्यकालमा मुखले मात्र पारदर्शिता र जबाफदेहिताको कुरा भयो, तर व्यवहारमा रकम झवाम पारियो,मैले बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेको एक हप्ता भित्रै धरान खानेपानी बोर्डको आर्थिक अडिट रिपोर्ट सार्वजनिक गरेँर सम्पूर्ण कारोबार अनलाइन गरियो ।”
उनले धरान खानेपानी बोर्ड को गतिविधि र वित्तीय प्रतिवेदन प्रत्येक महिना सार्वजनिक गर्ने प्रणाली विकास गरिएको जानकारी दिँदै जबाफदेहिता र पूर्ण पारदर्शितामा आफू प्रतिबद्ध रहेको बताए।
बेघाले धरानको सञ्चार क्षेत्रमा बिन्युज पोर्टलले स्थानीय सामाजिक,राजनीतिक र आर्थिक मुद्दा मात्र होइन, राष्ट्रिय स्तरमै प्रभावशाली भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
वरिष्ठ पत्रकार हर्ष सुब्बाले आधुनिक मिडियामा कन्टेन्ट भनिने समाचार र टिप्पणी जनतालाई भ्रमित बनाउन कृत्रिम रूपले उत्पादन गर्न थालिएको बताए ।
वास्तविकता बाहिर ल्याउन भन्दा वास्तविकता लुकाउन मिडियाको प्रयोग हुन थालेको बताउँदै उनले भने "हिजोआज मिडियाको कन्टेन्ट तारे होटल र स्ट्रिट फुडमा पाइने एउटै मसाला, पकाईको एकै स्वादको पाइन थालेको छ ।"
व्यक्तिको च्याउसरी अनलाइन र मूलधारका नाम चलेका अनलाइनको बिच भ्रम फैल्याउने कुराको गुणस्तरमा भने भिन्नता नपाइने उनको भनाई थियो ।
उनले भने,“आज सामग्रीलाई सत्यको खोजी होइन, व्यावसायिक उत्पादनझैँ व्यवहार गरिँदैछ। आधुनिक मिडियामा पाइने ठुलो कमी भनेको सत्य, वास्तविकता र अर्थपूर्ण गहिराइ अभाव हो।”
सुब्बाले डिजिटल उपकरण र आर्टिफिसियल इन्टेलिजेन्सले सामग्री उत्पादन सजिलो बनाएको तर गुणस्तरमा सम्झौता भइरहेको बताए।
मोबाइल फोनकै भरमा जो कोही फोटो भिडियो सम्पादनकर्ता बनेको औपचारिक पत्रकारिता प्रशिक्षण बिना सामग्री उत्पादन सम्भव भएकोले आचार संहिता, सामाजिक मूल्य मान्यता संकटमा परेको उनको भनाई छ ।
उनले भने “प्रविधिले सामग्री बनाउन सक्छ, तर सिर्जनशील पत्रकारिता भनेको तथ्य प्रमाणीकरण, सन्दर्भ बुझाइ र एआई–उत्पन्न भ्रमबाट सत्य छुट्याउने मानवीय विवेक हो।” वास्तविक पत्रकारिता गर्ने प्रतिबद्धता भनेको नैतिक जिम्मेवारी र पत्रकारिताको मूल्य बुझाई भएको सुब्बाले बताए ।
विन्युजको उद्धघाटन समारोहमा सारा फाउन्डेसनका अध्यक्ष वीरेन्द्र थापा, समाजसेवी पितरुमल अग्रवाल डा.विन्दु केसी लगायतले शुभकामना प्रकट गरे । सभापतित्व प्रबन्ध निर्देशक विनय प्रधानले गरेका थिए ।
दन्तकाली मिडिया प्रालि द्वारा सञ्चालित बिन्युज अध्यक्ष तथा प्रबन्ध निर्देशक विनय प्रधान हुन भने प्रधान सम्पादक डा. राजेन्द्र प्रसाद पोखरेल र कार्यकारी सम्पादक गोविन्द बस्नेत हुन ।धरानबाट सञ्चालित विन्युजले सत्य तथ्य अनलाईन न्युज प्रकाशित गर्ने जनाएको छ।