इटहरी : कार्यसम्पादन मूल्याङ्कनमा दश भरीका ११ वटा उपमहानगरपालिका मध्ये इटहरी सबैभन्दा अन्तिम भएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका पहिलो नम्बरमा आउँदा इटहरी कमजोर देखिएको हो । 
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा सुनसरीको इटहरी अन्तिम ११ र धरान आठौँ नम्बरमा परेको छ ।  
अघिल्लो वर्ष छैटौँ नम्बरमा रहेको इटहरीको कार्यसम्पादन यस पटक झनै खच्किएको हो ।
यसअघि आठौँ स्थानमै रहेको धरान यसपटक पनि सोही स्थानमा अडिएको छ । अघिल्लो वर्ष शीर्ष स्थानमै रहेको बुटवलले भने पुनः सोही स्थान हासिल गरेको हो । 
बुटवल उपमहानगरपालिकाले ६४.४४ अङ्क प्राप्त गरेर अग्रस्थान लिएको छ । दाङका दुई उपमहानगरमध्ये तुलसीपुरले ६१.५३ अङ्कसहित दोस्रो र घोराही उपमहानगरपालिकाले ६१.०८ अङ्क सहित तेस्रो भएका छन् । अन्तिम रहेको इटहरीले ३८.९६ अङ्क मात्र पाएको छ ।
कासमुको दोस्रो नम्बरबाट क्रमशः तुलसीपुर, घोराही, धनगढी, नेपालगन्ज, हेटौँडा, जनकपुर, धरान, कलैया, जितपुर सिमरा र इटहरी रहेका छन् । आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्याङ्कन गरेको र जसमा १० असारभित्र बजेट सार्वजनिक गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको उल्लेख छ ।
इटहरीले विगत दुई वर्षदेखि समयमै बजेट पेस नगर्ने र प्रक्रिया मिचेर कार्यसम्पादन गर्ने गरेको छ ।