धरान : अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं दिनको खेलमा झापा ११ झापाले सात दोबाटो यूथ क्लब काठमाडौँलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
धरान रङ्गशालामा मङ्गलवार भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११ ले उत्कृष्ट प्रदर्शन गर्दै सातदोबाटोलाई स्तब्ध बनाउँदै जित हात पारेको हो।
खेलको १६औँ मिनेटमा झापा ११ का राजेश दाहालले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ४३औँ मिनेटमा एरोन थापाले दोस्रो गोल गर्दै झापाको जित सुनिश्चित गरे। सातदोबाटोका वेविरोसले दोस्रो हाफको १३औँ मिनेटमा एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन्।
खेलको ४८औँ मिनेटमा सातदोबाटोका खेलाडी वेविरोसले रेड कार्ड पाएपछि सात दोबाटो १० खेलाडीमा सीमित भएको थियो।
झापा ११ ले घरेलु दर्शकको उल्लेखनीय साथ पाएको खेलमा एरोन थापा मगर ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
भोली हुने पहिलो सेमिफाइनल खेल लालीगुराँस फुटबल क्लब पोखरा र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँबिच हुने आयोजकले जानकारी दिएको छ।
सात दोबाटो यूथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ दुवै टोली पहिलो पटक बुढासुब्बा गोल्डकप खेल्न धरान आएको हो।