सुनसरी : सुनसरीको भोक्राहनरसिंह गाउँपालिका स्थित फुलचोकमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।
विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै सुनसरीतर्फ आउँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँएर दुर्घटना भएको हो। ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए।
मृत्यु हुनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन्। एक जना मृतकको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ। उनीहरूको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।