धरान : उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले धरानको विद्युत्, खानेपानी, पूर्वाधार र विकासका कार्य उज्यालो नेपाल पार्टीबाट मात्र सम्भव हुने बताएका छन् ।
भानुचौकमा आज बिहीबार आयोजित कोणसभामा उनले भने ‘धरानको विद्युत् आपूर्ति, पूर्वाधार र विकासका योजनाहरू प्रभावकारी बनाउन अब उज्यालो नेपाल पार्टीमा जनताको सक्रिय समर्थन आवश्यक छ ।’
उज्यालो पार्टीलाई भोट दिएर जिताए मात्र धरानको समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्ने उनले बताए । 
पार्टीको कोशी प्रदेशको सम्पर्क कार्यालय धरान-१५ श्यामचोकमा उद्घाटन गरेपछि भानुचौकमा कोणसभा गरिएको हो । घिसिङले विद्युत् आपूर्ति, पूर्वाधार र विकासका योजनाहरू प्रभावकारी बनाउन जनताको सक्रिय समर्थन आवश्यक रहेको बताए । 
घिसिङले लोडसेडिङलाई पूर्ण रूपमा अन्त्य गरेर नेपाललाई उज्यालो बनाइएको अनुभवलाई देश निर्माणको शक्तिशाली आधारका रूपमा अघि बढाउन आफू राजनीतिमा होमिएको बताएका छन् ।
उनले लामो समयदेखि देशले भोगिरहेको दैनिक लोडसेडिङ अन्त्य गरेका थिए । जुन कदमले नेपाली जनतामा ठुलो आशा जगाएको थियो । उनको त्यही लोकप्रियताले आगामी चुनावमा उनको पार्टी अघि आउने विश्वास सहित घिसिङ राजनीतिमा होमिएका हुन ।
कोणसभामा उनले भने, 'लोडसेडिङ हटाएर हामीले बत्ती फर्कायौँ, अब देश निर्माणका लागि सबै मिलेर अघि बढ्ने बेला आएको छ ।' उनले केन्द्रीय तथा स्थानीय तहका योजनाहरूमा समन्वय गरी दिगो विकासका परियोजनाहरू अगाडि बढाउने प्रस्ताव सहित पार्टीको रणनीति सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।