धरान : २६औँ बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा झापा ११ झापा ले रोयल थिम्पु भुटानलाई २–० गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ।

धरान रङ्गशालामा शुक्रवार भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११ झापाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण जित निकालेको हो।

निर्धारित ९० मिनेटको खेलमा झापा ११ झापाले खेलको पहिलो हाफको  ३५औँ मिनेटमा मौसम सुब्बाको पासमा सुनिल खड्काले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए।
दोस्रो हाफको १८औँ मिनेटमा राजेश दाहालले एकल प्रयासमा शानदार गोल गर्दै अग्रता दोब्बर बनाए।
रोयल थिम्पु भुटानले खेलको २१औँ मिनेटमा कर्नर अवसर पाए पनि गोलमा परिणत गर्न सकेन। खेल अवधिभर भुटानी टोलीका थुप्रै प्रहार प्रयासहरू असफल भए।
दर्शकको उत्साहपूर्ण समर्थन पाएको झापा ११ झापाले खेल अवधिभरि आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि दबाब कायम राखेको थियो ।
खेलको ‘म्यान अफ द म्याच’ झापा ११ झापाका खेलाडी राजेश दाहाल घोषित भए। उनले नगद  १० हजार सहित प्रमाणपत्र प्राप्त गरे ।
गोल्ड कप विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको भोलि शनिवार हुने खेलमा प्लानिङ ब्वाइज काठमाडौँ र न्यु रोड टिम (एनआरटी क्लब) काठमाडौँ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी टिमहरूमा एनआरटी काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाईज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब भारत, लालिगुरास ए पोखरा ,सात दोबाटो यूथ क्लब ललितपुर, प्लानिङ ब्वाईज क्लब काठमाडौँ, झापा ११ झापा, धरान फुटबल क्लब धरान छन् ।