धरान : खानेपानीको जङ्गलमा रहेको पम्पबाट पानी तान्दा बिजुलीमा धेरै खर्च भयो भनी नगर प्रमुख हर्क साम्पाङले पानी नतान्दा धरानमा पानीको हाहाकार हुन्थ्यो ।
उनै साम्पाङले नगर प्रमुख बनेपछि खानेपानी लाई ठुलो आर्थिक भार बोकाएर बोर्ड अध्यक्षको हैसियतले नियुक्त गरेका २२ जना नातेदार आफन्त, कार्यकर्ताहरूले ३ वर्ष देखी जागिर खाइरहेका छन् ।
खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलका अनुसार साम्पाङ नगरप्रमुखमा निर्वाचित भएपछि २०७९ चैत १ गतेदेखि २०८२ साउन ७ गतेसम्म २२ कर्मचारी नियुक्त गरिएका हुन ।
उनीहरूलाई सहायककर्ता प्रमुख, कार्यालय सहयोगी, चौकीदार, माली, प्लम्बर, सुपरभाइजर, कम्प्युटर अपरेटर पदहरूमा नियुक्त गरिएको छ ।
साम्पाङले नियुक्त गरेका कर्मचारीमध्ये मनकुमार राई र निर्मल थापा मगरले खरदार स्केलमा तलब बुझ्ने गरेका छन् । अन्य २० जनाले कार्यालय सहयोगी स्केलमा तलब बुझ्ने गरेको पाइएको छ ।
हर्क साम्पाङबाट नियुक्त कर्मचारीहरूको तलब भत्तामा धरान खानेपानी व्यवस्थापन बोर्डलाई मासिक ५ लाख ५९ हजार ८४४ रुपैयाँ बराबरको आर्थिक भार परेको छ । यो हिसाबले खानेपानी बोर्डले वार्षिक झन्डै १ करोड रुपैयाँ बराबर आर्थिक भार व्यहोर्दै आएको छ ।
नगर प्रमुख पदमा रहँदा साम्पाङले प्रक्रिया र कानुनी मापदण्ड विपरीत ठाडो आदेशमा कर्मचारी नियुक्ति गरी खानेपानी बोर्डमा जागिर दिलाएको तथ्य बाहिर आएको हो ।
नियुक्त कर्मचारीमा राजिन राई, लक्ष्मी आङ्बुहाङ लिम्बू, पुन्नकला राई, सीता राई, भावना थाम्सुहाङ, मदन राई, सिर्जना राई, कोपिला राई, चन्द्रमा राई, गोपाल राई, देवी राई, मनकुमार राई, निर्मल थापा मगर, गिरिराज राई, ओमकुमार राई, सर्मिला राई, निरुजा राई, पूजा राई, नामासङ राई, रामनाथ राई, कल्पना राई र हीरादेवी राई छन् ।
कर्मचारी नियुक्ति गर्दा सार्वजनिक विज्ञापन आह्वान गरी प्रतिस्पर्धात्मक प्रक्रिया पूरा गर्नुपर्ने कानुनी व्यवस्था भए पनि उक्त प्रक्रिया पालना नगरिएको पाइएको छ । सबै कर्मचारी साम्पाङको ठाडो आदेशमा नियुक्त गरिएका हुन ।
स्रोतका अनुसार साम्पाङले २० जनालाई कार्यालय सहयोगी स्तरको मासिक २४ हजार ७०२ रुपैयाँ तलब तोकेर नियुक्त गरेका हुन ।२ जनालाई खरिदार स्केल अनुसार मासिक ३२ हजार ९०२ रुपैयाँ तलब दिने गरी नियुक्त गरेका हुन ।
धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका साम्पाङले पारदर्शिता र सुशासनको कुरा गर्दै आएका थिए । तर आफन्त र कार्यकर्तालाई गुपचुप रूपमा जागिर दिलाएको विषय बाहिरिएपछि उनको ‘भ्रष्टाचार विरोधी’ छविमाथि गम्भीर प्रश्न उठेको छ ।
खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रबिक्रम बेघाले नियम विपरीत कर्मचारी नियुक्ति गरेको पाइए खारेज गरी सुशासन कायम गर्ने बताएका छन् ।