धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।आयातमा आधारित अर्थतन्त्रलाई विस्थापित गर्दै आत्मनिर्भर बन्नु आजको आवश्यकता भएको उनले बताए ।
शनिवार धरानमा जुत्ता चप्पल मेलाको उद्घाटन गर्दै बेघाले नेपाली जुत्ता–चप्पललाई स्वदेशमै सीमित नराखी जापान, अमेरिका जस्ता अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात बढाउनु पर्ने बताए ।
उनले धरानका नागरिकहरूलाई स्वदेशी उत्पादन प्रयोग गर्न आग्रह गर्दै गुणस्तरीय उत्पादन भए त्यसको प्रचार–प्रसारमा स्थानीय सङ्घ–संस्था र समुदाय सक्रिय हुन आग्रह  गरे ।
कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बाले जुत्ता मेलाले धरानका उपभोक्ताहरूलाई जुत्ता किन्न इटहरी वा विराटनगर जानुपर्ने बाध्यतालाई कम गर्ने विश्वास व्यक्त गरे । 
मेलामा नयाँ डिजाइनका जुत्ता, आकर्षक प्याकेज तथा विशेष छुटको व्यवस्था गरिएकोले धरानका उपभोक्ताका सुलभ मूल्यमा सहज पहुँच उपलब्ध भएको उनको भनाई छ ।
उनले जुत्ता मेला धरानको व्यापारिक गतिविधिका लागि महत्त्वपूर्ण छ । यसले उद्योग तथा व्यापार व्यवसायमा नयाँ उत्साह थप्नुका साथै धरानले गुमाउँदै गएको पुरानो व्यापारिक साख  पुनः फर्काउन मद्दत गर्न सक्छ ।
उनले सञ्चारकर्मीहरूलाई यसलाई सामान्य मेला मात्र नभई धरानको आर्थिक विकासको एक महत्त्वपूर्ण पाटोका रूपमा प्राथमिकताका साथ कभर गर्न आग्रह गरे ।
नेपाल जुत्ता–चप्पल उत्पादक सङ्घका निवर्तमान अध्यक्ष होमनाथ उपाध्यायले  नेपालमा वार्षिक १५ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको बताउँदै आन्तरिक खपत करिब १० करोड जोर मात्र रहेको जानकारी दिए । हाल ८० प्रतिशतभन्दा बढी बजार स्वदेशी उत्पादनले ओगटेको उनले बताए ।
उपभोक्तालाई सस्तो र गुणस्तरीय जुत्ता उपलब्ध गराउन बिचौलिया हटाई सिधै उद्योगबाट उपभोक्तासम्म पुग्ने गरी ‘साझा बिक्री केन्द्र’ खोल्ने योजना रहेको उपाध्यायले बताए । यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै उनले धरान उपमहानगरपालिकालाई तालिम केन्द्र सञ्चालन गर्न आग्रह गरे । उनका अनुसार जुत्ता उद्योगमा कार्यरत व्यक्तिले मासिक ३५ हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने सम्भावना छ ।
हाल जुत्ता उद्योगमा ३५ प्रतिशत मात्र स्वदेशी कच्चा पदार्थ प्रयोग भइरहेकोमा आगामी दिनमा यसलाई ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको उनले बताए ।
प्रदर्शनीको मुख्य उद्देश्य ‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएका छन् । मेलाले नेपाली उद्योगीलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई सहुलियत दरमा गुणस्तरीय स्वदेशी उत्पादन उपलब्ध गराउने लक्ष्य लिएको छ ।
धरान १२ छाता चोक आयोजित जुत्ता चप्पल मेलामा फस्ट वाल्क, बीएफ डियर हिल सुज, क्रस रोड, रोयल सुज र डिजे सुजका विभिन्न मोडेलका जुत्ताहरू रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, निवर्तमान अध्यक्ष जनक ऋषि राईलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
jutta-mela