सुनसरी : नमुना कलेज र स्मल हेभन स्कुल इटहरीमा जारी हिसान कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीको आयोजनामा भइरहेको प्रतियोगिताको बुधवार सम्पन्न पहिलो सेमिफाइनलमा इटहरीको नमुनाले सुस्मा गोदावरी कलेजलाई ४९ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
जनता क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले निर्धारित १० ओभरको खेलमा ३ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । नमुनाको लागि राजु बिकले अर्धशतकीय इनिङ खेले । उनले २५ बलमा ५८ रन बनाएर अभिजित रहे । गुञ्जन दाहालले ११ रन जोडे ।
जवाफमा १ सय ९ रनको विजयी लक्ष्य पछ्याएको सुस्मा गोदावरीले ६ विकेट गुमाउँदै ५९ रन मात्र बनाउन सक्यो । उसका लागि अनिल बस्नेतले नटआउट २६ रन बनाउँदा एमडी आदिलले १६ रन जोडे । नमुनाका राजु बिक प्लेयर अफद म्याच घोषित भए । 
बुधबारनै सम्पन्न दोस्रो सेमिफाइनलमा इनरुवाको स्मल हेभन स्कुलले इटहरीको कोसी सेन्ट जेम्सलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गर्दै नमुनासँगको उपाधि भिडन्त पक्का गरेको छ ।
स्मल हेभनले प्रस्तुत गरेको १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको कोसी सेन्ट जेम्स १० ओभर खेल्दै सबै विकेट गुमाएर ५८ रनमा समेटियो । कोसी सेन्ट जेम्सका मोहित विश्वकर्माले २२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको इनरुवाको स्मल हेभनले निर्धारित १५ ओभरको खेलमा ४ विकेट गुमाउँदै १ सय ६२ रनको योगफल खडा गरेको थियो । उसका लागि रबिन मण्डले ३५ बलमा ७६ रनको उत्कृष्ट पारी खेले । खालिद खानले ३४ रन जोडे । रबिन प्लेयर अफ द म्याच बने । स्मल हेभन र नमुनाबिचको उपाधि भिडन्त बिहीबार हुनेछ । हिसान सुनसरीको १२ औँ स्पोर्टस मिट अन्तर्गत जारी प्रतियोगितामा सुनसरीका ८ वटा कलेजको सहभागिता रहेको छ ।