इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीले खेल उत्सवको रूपमा मनाउँदै आएको प्रतियोगिता सुरु हुन लागेको छ । २०६९ सालदेखि खेल उत्सवको रूपमा परिचित "हिसान स्पोर्टस् मिट २०८२" माघ १५ देखी २८ गतेसम्म तय भएको हो । 
सुनसरी जिल्लाभरिका २५ सय विद्यार्थीको प्रत्यक्ष सहभागिता रहने महोत्सवमा १५ हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने भएका छन् । 
१२ औँ संस्करणको स्पोर्ट्‌स मिटमा कक्षा १० सम्म १० विधामा ४१ खेल र कक्षा ११ र १२ का विद्यार्थीको लागी ११ विधाका ३४ खेल हुँदैछ्न् । स्पोर्ट्स मिटलाई विद्यार्थी, अभिभावक र विद्यालयले उत्सवकै रूपमा ग्रहण गर्ने गरेको हिसान सुनसरीले जनाएको छ । 
फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न प्रतियोगिता मार्फत विद्यार्थीलाई प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले बताए । फुटबल इटहरी २ को बुढासुब्बा खेलमैदानमा र क्रिकेट जनता क्रिकेट मैदानमा सञ्चालन हुने उनको भनाइ छ ।  
भलिबल पूर्वाञ्चल मावि तरहरा, बास्केटबल धरानस्थित सियोन स्कुलको कोर्टमा र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रङ्गशालामा खेलाइने अध्यक्ष भट्टराईले जानकारी दिए ।
त्यसबाहेक कविता प्रतियोगिता यसअघि नै सम्पन्न भएको छ भने वक्तृत्वकला, बुद्धिचाल, टेबल टेनिस, ब्याडमिन्टन र हाजिरी जवाफ प्रतियोगितालाई समेत समेटिएको छ ।