धरान : नेपाली काँग्रेसले सुनसरी क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुजेन्द्र तामाङ गोलेलाई सघाउन २ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
यति धेरै सङ्ख्यामा अन्य पार्टीहरूको चुनाव प्रचार समिति भन्दा नेपाली काँग्रेसको ठुलो हो । काँग्रेसको सुनसरी १ बाट निर्मला गुरुङ राई समानुपातिक प्रत्याशी छन् ।
काँग्रेस प्रदेश महामन्त्री तथा निर्वाचन परिचालन संयोजक उमेश थापाले मङ्गलवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा साथै सुनसरी १ मा काँग्रेसको स्थानीय प्रतिबद्धता जारी गरेका हुन ।
सहसंयोजक धरानका पूर्व मेयर तिलक राईले १७ सूत्रीय प्रतिबध्दतापत्र प्रस्तुत गर्दै काँग्रेसको राष्ट्रिय चुनावी घोषणापत्र बाहेक सुनसरी १ का उम्मेदवारको यो प्रतिबद्धता भएको बताए ।
१० वटा उपसमितिहरू
बृहत् समितिमा आर्थिक समिति संयोजक प्रवीण राई रहेका छन् । युवा परिचालन समिति संयोजक पर्वत राई,प्रचार–प्रसार समिति संयोजक श्याम पोख्रेल रहेका छन् ।
सङ्घ संस्था समन्वय तथा परिचालन संयोजक तिलक राई,महिला परिचालन समिति संयोजक उर्मिला प्रधान,दलित परिचालन संयोजक गणेश परियार, खेलकुद समिति संयोजक किशोर राई रहेका छन् ।
साथै विदेश संयोजक संदिप श्रेष्ठ, मजदुर संयोजक देउमान लिम्बु, विद्यार्थी परिचालन संयोजक प्रशान राई रहेका छन् ।
“बदलिएको काँग्रेसले बदल्ने छ देश" काँग्रेसको मूल नारा सुनसरी १ ले यहाँ थपेको छ "काँग्रेसले बनाउने छ क्षेत्र–१" ।
बुँदागत प्रतिबद्धताहरू
धरान उपमहानगरपालिका,वराहक्षेत्र नगरपालिका र राम धुनी नगरपालिकाका अधुरा तथा अलपत्र परेका विकास योजनाहरू प्राथमिकताका साथ सम्पन्न गर्ने,सङ्घीय सरकारसँग समन्वय गरी यस क्षेत्रमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने योजनाहरू प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस क्षेत्रका बाटोघाटो, पुल–पुलेसा, मठ–मन्दिर, गुम्बा, चर्च, देवस्थल तथा सार्वजनिक स्थलहरूको संरक्षण र स्तरोन्नति गर्दै धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
सुनसरी क्षेत्र १ मा थप उद्योग सञ्चालनका लागि उद्योगमैत्री वातावरण निर्माण गर्दै व्यवसायीहरूसँग संवाद र कार्य योजना अघि बढाउने।,यस क्षेत्रलाई शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने।,बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दक्ष जनशक्ति र अत्याधुनिक उपकरणयुक्त बनाई सेवा सहज र सर्वसुलभ बनाउने, साथै स्थानीय जनशक्तिलाई नर्स र डाक्टरको कोटा सुनिश्चित गर्न पहल गर्ने।
कमजोर बन्दै गएको व्यापार–व्यवसाय पुनर्जीवनका लागि स्थानीय,प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी लगानीमैत्री वातावरण बनाउने।
सरकारी तथा निजी शैक्षिक संस्थाको शैक्षिक गुणस्तर सुधारका लागि अनुकूल वातावरण निर्माण गर्ने।,सडक, खानेपानी, सिँचाई र विद्युत् आत्मनिर्भर क्षेत्र निर्माणका लागि धरान–तमोर सुरुङ मार्ग जस्ता दीर्घकालीन योजना अघि बढाउने।
भूमिहीन नागरिकलाई भूमि पति बनाउने पहल गर्ने तथा बाढी, पहिरो र प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि योजना तर्जुमा गर्ने।
भ्रष्टाचार, अनियमितता र अधिकार दुरुपयोगविरुद्ध शून्य सहनशीलता अपनाउँदै इमानदार र पारदर्शी नेतृत्व प्रदान गर्ने।,बहु जातीय,बहुभाषिक,बहु धार्मिक र बहु सांस्कृतिक पहिचानको सम्मान गर्दै सामाजिक सद्भाव कायम गर्ने।
नागरिकसँग निरन्तर संवाद र सहकार्य गर्दै गुनासा तथा समस्या समाधानमा सधैँ तत्पर रहने।,खेलकुद प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको खेल पूर्वाधार निर्माण गर्ने।
,धरान यातायात व्यवसायको केन्द्र भएकाले उपयुक्त स्थान पहिचान गरी अटो–जोन निर्माण गर्दै यातायात क्षेत्रलाई व्यवस्थित बनाउने।,स्थानीय योजना र सरोकारलाई केन्द्रीय नीति तथा बजेटसँग जोड्ने।,गोर्खा भूतपूर्व सैनिकहरूको सेवा–सुविधा तथा नागरिकतासम्बन्धी समस्याको समाधानका लागि पहल गर्ने जस्ता घोषण रहेका छन् ।
बदलिएको काँग्रेसले आगामी निर्वाचन नै वर्तमान राजनीतिक तथा संवैधानिक सङ्कटको लोकतान्त्रिक निकास समेत गर्ने नेता कार्यकर्ताहरूले उद्घोष गरेको छ।