धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरेले ठुलो परिमाणमा गाँजा सहित तस्कर र चोरी भएको लाखौँ सामान बरामद गर्न सफल मोरङको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईलाई भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

प्रहरी निरीक्षक कविन राईको नेतृत्व रहेको टोलीले गत भदौ २८ गते विराटनगर-१५ बाट बन्दाकोपी बोकेको मे १ च ५८२६ नम्बरको बोलेरो गाडीमा ल्याइएको २६२ किलो ५८० ग्राम गाँजा सहित ३ जनालाई पक्राउ गरेको थियो ।

यसैगरी विराटनगरमा चोरी भएको घट्नाहरुमा ल्यापटप ११ थान, मोटरसाइकल १, ट्याम्पो ३ वटा, सिटी सफारी १, स्कुटर ४, ब्याट्री १२ भोल्टको १४ थान, इन्भर्टर ३ थान, सोफा ४ थान, फ्रिज २, एसी १, इलेक्ट्रिकल ओभन १, स्टाण्ड फेन २ थान र इन्डक्सन चुलो १ बरामद गरी धनीलाई बुझाइएको थियो ।

विराटनगर-१३ र १५ बाट लागू औषध नियन्त्रण ब्युरोसँगको समन्वयमा ३३७ ग्राम ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गर्न सफल भएको थियो ।