धरान : निर्वाचन आयोगले अगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रक्रिया प्रारम्भ गरेको छ । आयोगले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको कार्यतालिका सार्वजनिक गरी चुनाव प्रक्रिया सुरु भएको जनाएको हो ।

निर्वाचनको लागि दल दर्ताको समय मङ्सिर १ गते देखी १० गते सम्म रहेको आयोगको विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मङ्सिर १ गतेदेखि १० गतेसम्म रहेको र अयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाहरूले मिति २०८२/७/३० अगावै दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ ।’

कार्यपालिका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली अनुसार निर्वाचन हुनेछ । माघ २ गते देखी निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखी १८ सम्म निर्वाचन प्रचार प्रसार हुने र त्यसपछि प्रचार प्रसार निषेध रहने छ ।

फागुन २१ गते बिहान ७ बजेदेखी बेलुका ५ बजे सम्म मतदान हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएतापछी मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

समानुपातिक निर्वाचन प्रणालीको लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुष १८ र १९ गते बन्द सूचि पेश गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

ELECTION-COMMISSION-NEPAL