इटहरी : जेनजी आन्दोलनपछि थिलथिलो भएको प्रहरी कार्यालय तत्काल पुरानै अवस्थामा सुचारु हुन नसक्ने अवस्थामा छन् । आन्दोलनको क्रममा अपराधमा संलग्न भएकाहरूलाई कारबाही नगर्न गृह मन्त्रालयले दिएको निर्देशनले प्रहरी आफै रक्षात्मक अवस्थामा छ ।
भारतीय सीमा सुरक्षा बलले सीमापारिका बजारमा जान नेपाली परिचयपत्र अनिवार्य गरेको छ । यता रात्रिकालीन तस्करीमा नियन्त्रणमा गस्ती बढाइएको सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीले जनाएको छ । फरार कैदीहरू भारतीय नाका कटेर जानसक्ने कुरालाई विशेष प्राथमिकतामा राखिएको बराह बाहिनीका प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजङ्ग थापाले बताए । त्यसबाहेक तस्करी नियन्त्रणको लागि खास रणनीति बन्न सकेको छैन ।
यसअघि गृहमन्त्री रमेश लेखकले तस्करी नियन्त्रण गर्न निर्देशन दिए पनि हाल सरकार परिवर्तन भइसकेको छ । नयाँ सरकार गठन र आन्दोलन पछिको तरलताको अवस्थामा तस्करी मौलाउन सक्ने आकलन गरिएको छ ।त्यसबाहेक आन्तरिक राजस्व देखि पालिका स्तरबाट हुने अनुगमन समेत हुन सकेका छैनन् । चाडपर्व लक्षित हुने अनुगमनले उपभोक्तालाई भरोसा र तस्करलाई त्रास दिलाउने भए पनि जेनजी आन्दोलनपछि सम्पूर्ण प्रक्रिया रोकिएको हो ।
राजस्व कार्यालयबाट हुने चाडपर्व लक्षित अनुगमन यस पटक नहुने भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगर जलेर ध्वस्त भएपछि करदातालाई सेवा दिने बाहेक अन्य गतिविधि अगाडी बढाउन नसक्ने अवस्थामा पुगेको कार्यालय प्रमुख केशव उप्रेतीले बताए । उनका अनुसार कार्यालयमा भएका सरसामान जलेर नष्ट भएको अवस्थामा कर्मचारीको मनोबल बढाएर नियमित काममा सुरु गरिएको छ । बजारमा जाने अवस्था नभएको कारण अनुगमन नगरिएको उनको भनाइ छ । विराटनगर लगायत अन्य सहरमा पनि त्यही अवस्था विद्यमान छ ।
इटहरीको सङ्गीत चौक कपडा व्यापारको लागि प्रख्यात मानिन्छ । थोक तथा खुद्रा कपडा कारोबारले भरिभराउ सङ्गीत चोकका एक व्यापारीका अनुसार रातको समयमा तस्करी गरी ल्याइएका सामान भित्र्याउने गरिएको छ । सङ्गीत चोककै एक व्यापारीले भन्सार छलेको सामान आएको थाहा पाएर पनि केही बोल्न नसकिएको भन्दै निरीहता प्रस्तुत गरे । पछिल्लो जेनजी आन्दोलन पछि पहिला भन्दा धेरै विल बिनाका सामानहरू आइरहेको उनले बताए ।
आन्तरिक राजस्व कार्यालयले विल विजकको छड्के चेकजाँच गर्ने गरेको भए पनि यस पटक यस्ता प्रक्रिया रोकिएका छन् । भन्सार छलीका सामान जफत गर्ने राजस्व अनुसन्धानले यसबिचमा काम गर्न नसक्ने जनाएको छ । सरकारी निकाय शिथिल भएको अवस्थामा तस्करलाई भने राहत मिलेको छ । चाडपर्वको समयमा अत्यावश्यक बस्तुको विक्रीमा कालोबजारी हुने आशङ्का गरिएको छ ।