धरान : सुनसरीको धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले आइतबार विमल गुरुङ कृति पुरस्कारका लागि १० उत्कृष्ट कृति र राष्ट्रिय कविता महोत्सवका लागि १० कविता छनौट गरेको छ ।
पुस्तकालयमा प्राप्त १०४ कृतिमध्ये छनौट भएका १० कृतिमध्ये एक कृतिलाई ताम्रपत्रसहित नगद २ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
पुरस्कार आगामी कात्तिक १९ गते धरान–१८ बुद्धचोकस्थित पुस्तकालयमा आयोजना हुने कवि विमल गुरुङको ५४औँ जन्मजयन्ती तथा ३४औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा प्रदान गरिनेछ ।
छनौटमा परेका कृतिहरुमा डायस्पोराः अवधारणा र अभ्यास (रक्ष राई), रातो नदी (जुनु राना), डोलीभर्ना (डा. चित्र माबो), सिमसारा (बसन्त बस्नेत), काचको पोखरी (टीका भाइ), नातिपुस्ताको खेल (कृष्ण बराल), मोहोर (सागर गैरे), जब कविता निस्कन्छ जुलुसमा (सुरज राना), कोइलाखाद (श्याम सिंह) र गण्डाकी प्रदेशका गुरुङ जातिका सामाजिक सांस्कृतिक लोकनाच र लोकबाजाहरुको अध्ययन (तेज बहादुर गुरुङ) रहेका छन् ।
यसअघि यो पुरस्कार नरेश काङ्माङ, विजय कैलाशी राई, चन्द्र गुरुङ र प्रकाश थाम्सुहाङलाई प्रदान गरिएको थियो ।
यस्तै, राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश–विदेशका कविबाट प्राप्त ९० कवितामध्ये १० कविता छनौट गरिएको छ । छनौटमा परेका कवितामा छातिभित्र पृथ्वी (रिजन मायालु, इलाम), भूपरिवेष्ठित चेतना (राजु उवरकोटी, दोलखा), संग्रहालयमा थन्किएको खापसियो (दीपा मग्राती, सुनसरी), पसिनाको सौन्दर्य (किशन पौडेल, हेटौंडा), अभिशप्त जिन्दगी (बाबुराम श्रेष्ठ, सिन्धुली), रातो रङ्ग (आरती आचार्य, म्याग्दी), सपनाहरुको आँखाबाट (याम मगर, रोल्पा), फर्किन्छु अब देश (विनेश राई मिन्जाई, सुनसरी), दिशाहीन समयको प्रेतात्मा (सून्य नयन, गोरखा) र देशको ठेगाना (शुचरा, खोटाङ) रहेका छन् ।
महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः प्रमाणपत्र, पदक र नगद २१ हजार, १९ हजार र १८ हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
वि.सं. २०४८ साल बैशाख २४ गते सवारी दुर्घटनामा निधन भएका कवि विमल गुरुङका एक किलो जंगल, आत्मघोषणा र शहरको प्रगाढ मौनता कविता संग्रह प्रकाशित छन् । उनका पिता पूर्णबहादुर गुरुङले छोराको स्मृतिमा २०४९ सालमा धरानमा पुस्तकालय स्थापना गरी निरन्तर सञ्चालन गर्दै आएका छन् ।