इटहरी : विगत एक सातादेखि सुन्दरहरैँचा नगरपालिका र इटहरी उपमहानगरपालिका बिच वाक युद्ध चलिरहेको छ ।

सुन्दरहरैचा नगरपालिकाले खोला तटबन्ध र घाट निमार्णकार्य सुरु गरेपछि इटहरी उपमहानगरले निमार्ण कार्य रोक्न नगर प्रहरी परिचालन गर्‍यो । मेयर द्वारीकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमको टोलीले निमार्णस्थल मै पुगेर थप अगाडी नबढ्न निर्देशन दिए । त्यसको प्रतिउत्तरमा सुन्दरहरैचा नगरपालिकाका जनप्रतिनिधिले इटहरी उपमहानगर गुण्डागर्दीको शैलीमा प्रस्तुत भएको आरोप लगाए ।

२०७४ साउन २८ गतेको खोलाको बाढीले दुवै पालीकामा अत्यधिक क्षति भएपछि आ-आफ्नो समस्या समाधानमा लागीपरेका छन् । बर्खाको मौसम नजकिदै गर्दा सुन्दरहरैचा नगरपालिकाले बुढी खोला किनारमा तटबन्ध  निर्माण कार्य सुरु गरेको छ । त्यस सँगै गंगाजमुना मुक्ति घाटकै शैलीमा सुविधा सम्पन्न घाट निर्माणको काम पनि सुरु भएको छ ।

itahari-khola-bibad-2

सुन्दरहरैचा नगरपालिकाको अघिल्लो आर्थिक वर्षको २५ लाख र चालु आर्थिक वर्षको ३५ लाख बजेटमा निर्माण कार्य भइरहेको छ । इलेक्ट्रिक प्रबिधीद्वारा शव जलाउने गरी घाट निर्माण हुन लागेको सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले बताए ।

सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ को बुढी खापको बस्ती जोगाउन बाँध निर्माण गरिएको मेयर ढकालको दाबी छ । त्यस्तै पछिल्लो समय शव जलाउँदा अत्यधिक मात्र कार्बन उत्सर्जन भएको भन्दै इलेक्ट्रिक माध्यमबाट शव जलाउने व्यवस्था मिलाउने गरी घाट निर्माण गर्न लागिएको उनको भनाई छ ।

सुन्दरहरैचा नगरपालिकाले बनाउँदै गरेको घाटको ठिक पश्चिम पट्टी पूर्वकै पहिलो सुविधा सम्पन्न सुन्दर गंगाजमुना मुक्ति घाट छ । खोलाको बिचमै निर्माण भएको सो घाटले पनि आधा खोलाको जग्गा ओगटेको छ । हाल निर्माण भइरहेको घाट पनि खोलाकै जग्गामा पर्छ । जसले गर्दा बाढीको समयमा पानीको बहाव रोकिन गई खोला देखी उत्तरतर्फका बस्ती झनै जोखिममा पर्ने देखिन्छ ।

उता मेयर ढकालले भने पुर्वयोजना अनुसार नै काम अगाडी बढाइएको बताएका छन् । ‘हालको मुक्ति घाटदेखि सय मिटर पश्चिममा खोला बगेको थियो । त्यता तिर ध्यान नदिने अनि सुन्दरहरैँचाले केही निर्माण गर्न खोज्यो भने रोक्ने खोजेर हुन्छ ?,’ ढकालले भने, ‘सुन्दरहरैचातर्फका बस्ती बचाउन निर्माण कार्य थालिएका थालिएको हो । पूर्वाधार निर्माणको काम अब कुनै पनि हालतमा रोकिँदैन । पानी थुन्ने काम गरेको छैन । साइडमा तटबन्ध न गर्दा अरूलाई आपत्ति हुनु कुनै जरुरी छैन । ताल तलैयाको पूर्वपट्टि इटहरीले तटबन्ध न गर्दा सुन्दरहरैचा ५ को फोक्लायङ टापुमा क्षति पुग्ने देखिएको छ । हामीले त्यसको विरोध गरेका छौ र ?’

इटहरी उपमहानगरले निर्माण कार्य रोक्न आउनुभन्दा पहिला समन्वय गर्नुपर्ने उनको भनाई छ । गुण्डागर्दी शैलीमा आएर निर्माण कार्य रोक्दा आफूहरू चुप लागेर नबस्ने उनले बताए । आफूहरूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको अधिकार भित्र रहेर काम गरेको उनको दाबी छ ।

उता इटहरी उपमहानगरले भने सुन्दरहरैचा नगरपालिकाले सडकको क्षेत्राधिकार भित्र हात हालेको बताउँदै आएको छ । २०७४ सालमा बाढी आएपछि खोला छेउमा पूर्वाधार बनाउँदा दुवै पालिका बिच समन्वय गरेर मात्र निर्माण गर्ने सहमति भएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम बताउँछिन् ।
‘दुवै नगरपालिका बिच समन्वय गरेर मात्र तार जाली लगाउने निर्णय भएको छ । कुनै निर्माण गर्ने भए दुवै पालिका सँग समन्वय गर्ने भन्ने कुरा छ ।,’ उनले भनिन्, ‘बुढी खोलाको पुल छेउमा खनेको देखेपछि १ वर्ष अगाडी नै पत्र पठाएका छौ । सुन्दरहरैचा नगरपालिकाले लकडाउनको मौका छोपेर काम गरेको हो । पुलको पिलर मुनी काम भइरहेको छ । यसले गर्दा भोलिका दिनमा पुल र बस्ती दुवै जोखिममा हुने खतरा बढाएको छ ।’

उता मेयर ढकालले भने आफूलाई कुनै पनि पत्र नआएको र त्यस्तो कुनै सहमति नै नभएको बताएका छन् । मेयरकै भनाइमा सहमति जनाउँदै बृहत्तर मुक्ति धाम क्षेत्र विकास समितिका अध्यक्ष हेम घिमिरेले कुनै समन्वय बिनै निर्माण कार्यमा हस्तक्षेप भएको बताए ।

सोही घाटको उपभोक्ता समितिका अध्यक्ष समेत रहेका घिमिरेले भने “ पुरानै योजना अनुसार काम अगाडी बढाइएको हो । तर काम भइरहेको ठाउँमा गएर इटहरी उपमहानगरपालिकाकी उपमेयर गौतमले गरेको हर्कत गलत छ ।”

‘धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्ने हिसाबले काम सुरु गरेका हौ । दुवैतर्फ आकर्षक धाम निर्माण गर्ने र बिचमा झोलुङ्गे पुल हाल्ने योजना छ ।,’ उनले भने, ‘अहिले पनि खोलाले भोगेको भन्दा धेरै जग्गा छाडेर काम भइरहेको छ । खोलामाथि कुनै अतिक्रमण गरिएको छैन ।’

जल उत्पन्न प्रकोप व्यवस्थापन र सडक विभागको सल्लाह अनुसार ५० मिटर छाड्नुपर्ने ठाउँमा ६० मिटर छाडेर काम गरिरहेको उनको तर्क छ ।

हाइवेको पुल सङ्कटमा पर्‍यो भने भोलि के असर पर्छ भन्ने बारे दुवै पालिकाका प्रतिनिधिलाई जानकारी छैन । कानुन सम्मत निर्माण भएको छ की छैन भन्ने विषयमा सडक विभाग पनि बेखबर छ ।

सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख पशुपति ज्ञवाली यस विषयमा जानकारी लिने काम भइरहेको बताउँछन् । पुल र सडकलाई मर्का पर्ने गरी निर्माण भएको छ की छैन भन्ने बारे स्थलगत अनुगमन गरेर मात्र भन्न सकिने उनले बताए ।