धरान : कुनै बेला महिलाहरूका तिज पर्वमा पनि जातीय छुवाछुत गरिन्थ्यो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि संविधानमै छुवाछुत गर्न नपाइने लेखिएपछि ब्राह्मण, क्षत्री र दलित जातिको विभेद हट्दै गएको छ । यसपालिको हरितालिका तिजका सामूहिक कार्यक्रमहरूले त्यस्तो अनुभूति दिएको हो ।
तिजलाई साझा पर्वको रूपमा मनाउने क्रममा केही महिला समूह र संस्थाहरूले होटेलहरूको पार्टी प्यालेसमा दर खाने, बढी मदिराजन्य पेयपदार्थ पिएर नृत्य गर्ने विकृति पनि नभएको होइन । यस बिच उल्लेखनीय तिज कार्यक्रम पनि आयोजना गरिए ।
यसपालि धरान-१५ को सुनौलो महिला विकास समाजको आयोजना, गृहश्रमिक महिला ढाका लघु उद्यमी समाज नेपाल, सामुदायिक सुरक्षा जालो र नमुना श्रुतिमार्ग टोल विकास संस्थाको संयोजनमा शनिवार भएको तिज  कार्यक्रमको रौनक र विशेषता बेग्लै र अनुकरणीय देखियो ।
सनौलो महिला विकास समाजकी अध्यक्ष दिलकुमारी राई सभापति रहेको तिज विशेषमा टोल बस्तीका ६० वर्ष माथिका ५० जना ज्येष्ठ आमाहरूलाई खादा ओढाएर सम्मान गरियो । संस्थामा आबद्ध सबै पदाधिकारी सदस्य सँगै १५० जनालाई सामूहिक रूपमा दर खुवाइयो ।
कार्यक्रममा नमुना श्रुतिमार्ग टोल विकास संस्थाका अध्यक्ष डाकमान राईले जातीय छुवाछुत कानुनी रूपमा हटेको र महिला माथि हुने घरेलु हिंसा सामाजिक विभेद हट्दै गएकोले तिज पर्व सबै जाती समुदायको साझा पर्व बन्दै गएको बताए ।
गृह श्रमिक महिला ढाका लघु उद्यमी समाजकी अध्यक्ष प्रेम कुमारी राईले माता पितालाई सेवा र सम्मान गर्ने सन्तानले अन्य धर्म गरी रहन नपर्ने, तिज पर्वमा सामूहिक रमाइलो गर्दै ज्येष्ठ आमाहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् ।
बिहानी जनसाँस्कृतिक समाजका अध्यक्ष लोकराज निरौलाले तिज पर्वमा महिलाहरूले व्रत बस्ने र पतिको खुट्टाको पानी खाने प्रचलन धर्म संस्कृति भित्रको विकृति भएको बताउँदै अशक्त, बिरामी अवस्थामा जबरजस्ती व्रत नबस्न आग्रह गरे ।
स्वागत मन्तव्य समाजकी उपाध्यक्ष गंगामाया खड्काले गरेकी थिइन् । सचिव चम्पा श्रेष्ठले कार्यक्रम सञ्चालन गरिन् ।