इटहरी : इटहरीमा खुल्न लागेको नेपाली जुत्ता घरकाे सञ्चालनमा अवरोध नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधिसहरु गणेश ठाकुर र कैलाश गुरुङले नेपाली जुत्ता घरले सञ्चालनमा ल्याउन लागेको पसल सञ्चालनमा अवरोध नगर्न आदेश दिएका हुन् ।
निवेदक मात्रीका प्रसाद नेपाल र विपक्षीहरू इटहरी उपमहानगरपालिका लगायत दुवै पक्षसँगको छलफल पछि पसल सञ्चालन गर्नेगरि २२ गते आदेश दिएको छ । नेपाली जुत्ता उद्यमी समूह प्राली सँगको सहकार्यमा नेपालले सञ्चालन गर्न लागेको पसलमा इटहरी उपमहानगरपालिकाको नगर प्रहरीले हस्तक्षेप गरेर सामान जफत गरेको थियो । उद्योग वाणिज्य सङ्घ इटहरीले समेत पसल खोल्न अवरोध गरेपछि नेपालले अन्तरिम आदेशको माग गर्दै उच्च अदालत विराटनगरमा रिट हालेका हुन् ।
इटहरी उपमहानगरपालिका कार्यालय, मेयर हेमकर्ण पौडेल, नगर प्रहरी प्रमुख जिबी राई र उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली विरुद्ध रिट परेको हो । गत भदौ २४ गते नै आदेश आउने भनीएपनि जेनजी आन्दोलनको कारण अदालतमा आगजनी र तोडफोड भएपछि सुनुवाइ भएन ।
नेपाली उद्योगबाट उत्पादित जुत्ता चप्पललाई प्रवर्द्धन गर्ने उद्देश्यले खुल्न लागेको पसलले सस्तोमा विक्री गर्ने भएपछि स्थानीय व्यापारीले विरोध जनाएका थिए । व्यापारीको विरोध र उजुरी पछि उपमहानगरपालिका र उद्योग वाणिज्य सङ्घले पसल सञ्चालन गर्न अवरोध गरेको हो ।