धरान : प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको बारेमा केही दिनयता सञ्चार माध्यमहरूले भ्रामक समाचार भाइरल बनाइएकोमा नेपाल प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति मार्फत त्यसको खण्डन गरेको छ ।

‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनी आइजिपी खापुङले भनेको भनी भाइरल बनाइएको समाचार भ्रामक भएको उल्लेख गर्दै त्यसमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।

‘प्रहरी महानिरीक्षकले कहीँ कतै त्यस्तो आशय झल्किने अभिव्यक्ति नदिएको’ जानकारी गराउँदै विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्रीसँग भएको सुरक्षा बैठक,प्रतिवेदनहरूमा समसामयिक घट्नाक्रमहरु वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण र शान्ति सुव्यवस्था कायम गर्ने विषयमा केन्द्रित सौहार्यदपुर्ण छलफल मात्र भएको जनाइएको छ ।

शान्ति सुरक्षा सम्बन्धी उक्त उच्च स्तरीय बैठकसँग जोडेर महानिरीक्षक खा पुङबारे युट्युब, सामाजिक सञ्जालमा केही दिन देखी भाइरल बनाउने कार्य भ्रामक भएको प्रहरी प्रधान कार्यालयले स्पष्ट गरेको हो ।