धरान : धरानका सार्वजनिक स्थलहरूमा राखिएका मादक पदार्थका प्रचार प्रसारजन्य होर्डिङ बोर्डहरू हटाइने भएको छ ।

स्वास्थ्य शिक्षा सूचना, सञ्चार केन्द्रद्वारा आइतवार धरान उपमहानगरपालिका तथा सरोकारवालाहरूको  सहभागितामा आइतवार भएको 'मदिरा नियन्त्रण तथा नियमन' सम्बन्धी कार्यशालामा मदिराका प्रचार प्रसार गरिएको होर्डिङ बोर्ड हटाउने सहमति भएको हो । 

विद्यालयका २ सय गजभित्र मदिराजन्य पदार्थ बिक्री गर्न बन्द गराउने पनि सहमति भएको छ । अनुमति नलिई मदिरा बिक्री वितरण गर्न नपाइने सहमति भएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

गोष्ठीमा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शैक्षिक संस्थाको सटरमा नै मदिरा बिक्री हुने गरेको बताए । उनले भने ‘स्कुलको सटरमा रक्सी व्यापार छ, यसमा उपमहानगरपालिकाले सोच्ने बेला आएको छ ।’

प्रजिअ आचार्यले विद्यालयले सटर बनाएर व्यापार गर्न अनुमति दिने गरेको त्यसमा नगरपालिकाहरुले व्यवसाय गर्न अनुमति दिने गरेकोमा ध्यानाकर्षण गराए ।

धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाले मदिरा पसल नियमनका लागि नियम कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै भने ‘मदिरा व्यवसायीसँग छलफल गरेर मदिरा नियमन सम्बन्धी नीति बनाउन पहल गरिने छ ।’

ट्राफिक प्रहरी सुनसरीका प्रमुख सुवास खत्रीले मादक पदार्थ सेवन गर्ने सवारी साधन नियन्त्रण लिई कारबाही गर्दा कसैले छुटाउन आग्रह नगर्न अनुरोध गरे ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्र प्रमुख केशव राज पण्डितको सभापतित्वमा भएको गोष्ठीमा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर  केसीले कार्यपत्र प्रस्तुत गरे । गोष्ठीमा सुरक्षा निकायका प्रमुख, मदिरा व्यवसायीहरू, सामाजिक सङ्घ, संस्थाका पदाधिकारीहरू सहभागी थिए ।

स्वास्थ्य शिक्षा सूचना केन्द्रको तथ्याङ्क अनुसार नेपालमा मदिरा सेवन गर्ने दर वर्षेनी बढिरहेको छ । हालैको अध्ययन अनुसार मदिरा सेवन गर्ने पुरुष दर ५० प्रतिशतले वृद्धि भएको छ भने महिलाको ५४ दशमलव ९ प्रतिशत वृद्धि भएको छ ।

सन् २०१३ देखि २०२२ सम्म गरेको सर्वेक्षणमा ९ वर्ष मदिरा सेवन गर्नेको दर अधिक वृद्धि भएको देखाएको हो ।

तथ्याङ्क अनुसार १५ देखी ६९ वर्षका ११ दशमलव ७ प्रतिशतले मदिरा सेवन गर्ने गरेको देखिन्छ । ८ जनामा १ जनाले दैनिक मदिरा सेवन गर्छन् ।

सर्वेक्षणले ६ दशमलव ८ प्रतिशत जनसङ्ख्याले अत्यधिक मदिरा सेवन गर्ने गरेको देखाएको छ । अर्थात् १० लाख वयस्कले अत्यधिक मदिराको सेवन गर्नेमा पुरुष ३२ दशमलव २ र महिला १६ दशमलव २ प्रतिशत मदिरा सेवन गर्छन् ।

मदिरा सेवन गर्ने २ सय भन्दा बढी रोग र चोटपटक लाग्ने अवस्था निम्त्याउँछ । विश्वमा मदिराको कारणले प्रतिवर्ष ३० लाखको मृत्यु हुने गरेको छ ।

सबै प्रकारका मृत्यु मध्ये ५ दशमलव ३ प्रतिशत मदिराबाट हुने गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा सबै प्रकारका मृत्युमध्ये ३ दशमलव ०४ प्रतिशत मदिराको कारण हुने गरेको छ ।