धरान : धरान स्थित इस्कोन मन्दिरले यसपाली १७ औँ पटक आयोजना गर्ने जगन्नाथ रथयात्रामा विदेशबाट समेत सहभागी आउने भएका छन् ।
रथयात्रा मूल आयोजक समितिका अध्यक्ष डा. मदन कोइरालाले सोमवार आयोजित पत्रकार सम्मेलनमा विदेशबाट समेत सहभागी आउने बताएका हुन ।
उनका अनुसार रथयात्रामा नेपाल तथा विदेशबाट आउन करिब ४ हजार भक्तजन रथयात्रामा सहभागी हुनेछन् । मङ्सिर २० गते हुने रथयात्रा धरानको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहने उनको भनाई छ ।
रथयात्रामा श्री जगन्नाथ, बलदेव र सुभद्रा महारानी सुवर्णरथमा ‘विराजमान’ गराई धरान बजार परिक्रममा गर्ने तयारी गरेको छ । इस्कोन धरानका अध्यक्ष अधिराज राईले रथयात्राको रुटबारे जानकारी दिदैं इस्कोन मन्दिर समीचोक देखि सुरु हुने रथयात्रा पुरानो बजार, भानुचोक, छाता चोकबाट पुन मन्दिर फर्किएर प्रसाद वितरण गरिने बताए ।
रथयात्रामा नेपालका विभिन्न इस्कोन केन्द्रका पदाधिकारीहरू सहभागी हुने उनले बताए । इस्कोन धरानले सम्पूर्ण भक्तजनलाई रथयात्रामा सहभागी हुने निमन्त्रणा गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि वालसन्त मोहनशरण देवाचार्य, महाविष्णु स्वामी महाराज, पात्री दास विशिष्ट अतिथि रहने बताइएको छ ।


































































