मनोहर शाक्य
उँधौली तथा मङ्सिरे पूर्णिमासँगै नेपालमा मनाइने नेवार समुदायको यमरी पुन्ही पर्व नेपाली संस्कृतिमा महत्त्वपूर्ण रहँदै आएको छ । चाडपर्वहरूलाई नियालेर हेर्दा पाँच वटा मुख्य-मुख्य मनाउनु पर्ने कारणहरू भएको पाइन्छ ।
नेपाल मण्डलमा किसानहरूले मनाई आएको कृषिमा आधारित त्यसमा पनि धान बालीमा आधारित पाँच मुख्य चाडपर्वहरू मध्ये यस यमरी पुन्हि, धान्य पूर्णिमा महत्त्वपूर्ण छ । नेपाल मण्डलमा बसोबास गरेका स्थानीय वासीहरूले र बाहिर बसेकाहरूले केही मात्रामा यो पर्व वर्षको एकपल्ट मार्ग शुक्ल पूर्णिमाको दिन यस यमरी पुन्हि पर्व मनाउने गरेको छ ।
यसरी यमरी पुन्हि पर्व भन्नाले चामलको पीठो मुछेर यस मरि बनाएर यस भित्रको स्पेसमा चाकु तिल खुवा मासु आदि राखेर यस मरि पकाएर इष्ट देवतालाई चढाएर खाने खुवाउने पर्व हो । यो पर्व साधारण त प्रत्येक घर घरमा यस मरि बनाएर पकाएर धान भकारीमा पूजा गर्ने र खाने खुवाउने प्रचलन भएको भएता पनि आजकाल घर परिवारहरू मिलेर सामूहिक रूपमा मनाउन खोजिएको पनि पाइन्छ ।
यमरी पुन्हि पर्व मनाउँदा घर घरमा यस मरि मागेर खाने परम्परा पनि कम भएको पाइन्छ । यो यस मरि पुन्हि पर्व मनाउँदा सम्पन्नताबाट प्रेम भाव, दयामाया र करुणाको आदान(प्रदान गर्ने पर्वको रूपमा मनाइने पर्व पनि भनिन्छ । तर वर्तमान समयमा लोप हुँदै गएको पाइन्छ । साधरणतया जनमानसमा यस मरि खानाले जाडो सहन सक्ने क्षमता बढ्ने र बूढाबूढीहरू को कफ नष्ट गर्ने शक्तिको विकास र स्वास्थ्यवर्धकको लागि पनि लिने गरेको पाइन्छ ।
यमरी पर्व किसानहरूको लागि धान रोपाई देखि धान काट्ने, चुट्ने, सुकाउने, सफा गरेर भित्र्याउने मेहनतको फलको रूपमा धान भकारी भरिएको देखेर खुसीयाली मनाउने पर्व हो ।
इतिहास तथा आख्यान
किराँत कालको एउटा महत्त्वपूर्ण किंवदन्ती अनुसार बलबल नाम गरेको एक जना व्यक्तिले खेत खनेर धान रोपाई गरेर धेरै धान फलाउन सफल भयो । नेपाल मण्डलमा खनजोत गरेर धान रोपाई गर्ने चलन पनि थिएन कसैसँग ज्ञान पनि थिएन । त्यस बेलामा खनजोत गरे भूमि देवता रिसाएर खनजोत गर्नेलाई मार्छन् भन्ने विश्वास लिएर बसेका थिए ।
यस्तो विश्वास भएको परिस्थितिमा पनि एक जना मानिस खेत खनेर धान रोपेर उब्जाउ बढाउन तम्सिए । उसले जे पर्छ मलाई पर्छ भनेर हिम्मत गरेर खेत खनेर धान रोपाई गर्यो । यसरी खेत खनेर धान रोपाई गर्दा उब्जनी राम्रो भयो । खेत खनेर धान रोपाई गर्दा उस लाई केही भएन । यसरी उसले गरेर देखाएको किंवदन्ती सर्वव्यापक छन्, त्यसपश्चात् उसको सम्झनामा मूर्ति बनाइयो र शिला मूर्तिमा पूजा गरेर यस मरि चढाउन थालियो ।
त्यस मूर्तिको नाम “बलबल “ डबल बल भनेर राखियो । किराँत कालिन नाम भएको हुनाले नाम यकिन भएन । बल भएकोले बलकै आधारमा खेत खनेर रोपेको हुनाले बलबल कै काम हो भनेर सो नाम राखेको भान हुन्छ ।
लिच्छविकलामा बलबलको ठाउँमा बलभद्र नाम राखेको भनिन्छ । हाल बलभद्रको मूर्ति पाटन सहरको मच्छिन्द्र बहाल बाहिर काली शक्ति पीठ सामुन्नेको गणेशको मूर्ति भएकै मन्दिरमा रहेको पाइन्छ । त्यसैले धान रोपाईको मौलिक अध्ययन र अनुसन्धानको उदाहरणहरू प्रस्तुत गर्ने हुनाले मौलिक धान रोपाई प्रदर्शन गर्दछ । खेत खनेर धान रोपाई गर्दा राम्रो उब्जाउ भएको प्रदर्शन गर्न ज्यापु समाजले राष्ट्रिय व्यापी ज्यापु दिवस मनाउने गरेको छ ।
सिनाज्याको उदाहरणहरू
अर्को किम्बदन्ती अनुसार लिच्छवि कालको पाँचाल देश पनौतीमा एक जना सुचन्द्र नाम गरेको धनाढ्य साहु बस्दथ्यो । उसको परिवारले गरिब माथि दया माया करुणा गरेर व्यवहार गर्दछन् भन्ने प्रचार प्रसार भयो । सो कुरा बुझ्न कुवेर आफै उनको घरमा एक दरिद्र व्यक्तिको भेष धारण गरी आए । त्यस बेलामा घरमा सामूहिक पत्नीले सो दरिद्र कुबेरलाई देखेर उसको दुःख कष्ट देखि दया माया गरेर राम्रा राम्रा लुगाफाटा दान गरिन् ।
सो दिनमा घरमा यस मरि लगायत अन्य मिष्ठान परिकारहरू खान दिइन् । यसरी सो साहूको परिवार को दया मायाको भावना र स्वभाव देखेर कुबेर ज्यादै प्रसन्न भए । कुबेरले सो साहू परिवार लाई यस मरि को महिमा बताउँदै धान को भकारीमा यस मरि राखेर पूजा गरेमा गणेश, कुमार , कुबेर , लक्ष्मी, आदि सबै देवताहरू खुशि भएर घरमा धनधान्य बढ्छ भन्ने अर्ति दिएर गए । कुबेरले आफ्नू हातमा भएको एउटा बिमिरो पनि दिएर गए ।
परिवारले सो कुरा सुचन्द्र साहूलाई सुनाएर त्यसै घटनाको आधारमा त्यही बेला देखि नै यो परम्परा बस्यो भनिन्छ । यो परम्परा को थालनी लिच्छवि राजा अंशुवर्माको पाला देखि भएको हो भन्ने भनाइ छ । यो लिच्छविकलाको किंवदन्ती हो । यसरी हेर्दा यस को इतिहासले किराँतकलाबाट प्रारम्भ भएको पाइन्छ ।
यमरीको महत्त्व
नेवा समुदायको कुनै पनि शुभ कार्यमा यस मरि चढाएर स्वागत सत्कार गर्नु नेवा मौलिक परम्परा नै हो । मनुष्यको जन्मदेखि मृत्युसम्मको संस्कारमा आवश्यक देखिन्छ । महिलाहरू गर्भवती भए लगायत नै यसको महत्त्व देखिन्छ ।
बच्चाहरू जन्मेपछि दुई वर्षको जन्मदिन मनाउँदा देखि नै यस यमरीको माला पहिल्याउने चलन छ । दुई देखि बाह्र वर्षको बच्चाहरूको उमेर थाहा पाउने उपाय पनि हो । यसको उद्देश्य जीवनभर धन सम्पत्तिले सम्पन्न होस्, घर धानले सधैँ पूर्ण होस्, अन्नपूर्णा माता को कृपा रहोस् आदि आशीर्वाद प्राप्त गर्नु हुन्छ ।
यमरी बुढेसकालमा जङ्कु गर्दा पनि आशीर्वाद स्वरूपमा यस मरि कै प्रयोग गर्ने प्रचलन चलिआएको । विवाह देखि अन्य मेला महोत्सव सबैमा पनि यमरीको प्रयोग भएको पाइन्छ । यसबाट हर्षोल्लास थपिएको पाइन्छ । नयाँ घर बनाएर छाना छाएपछि घर प्रवेश गर्नुभन्दा अगाडि यमरीको प्रयोग भएको हुन्छ । शक्ति पीठ्हरुको शक्ति पूजाहरूमा र कुल देवताको पूजामा यमरीको प्रयोग गरिन्छ ।



































































