धरान :  धरान समाज युकेले लन्डनमा सडक दुर्घटनामा ज्यान गुमाएका नेपाली विद्यार्थी युविन तामाङका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
समाजले युविनका बुबा विकास तामाङ र आमा शर्मिला मगर तामाङलाई ३ हजार ३ सय १० पाउन्ड (नेपाली रुपैयाँ करिब ६ लाख ३५ हजार) सहयोग प्रदान गरेको हो। उक्त रकम धरान समाज युकेको पहलमा बेलायतभरिबाट सङ्कलन गरिएको थियो।
धरान समाज युकेका अध्यक्ष निकेश लिम्बूले मानवता र समुदायप्रतिको उत्तरदायित्वका आधारमा सहयोग गरिएको बताए। उनले भने, “हामी धरानवासीलाई मात्र होइन, अप्ठ्यारोमा परेका सबै नेपालीलाई सहयोग गर्न सधैँ तयार छौँ।” सहयोग रकम हस्तान्तरण अध्यक्ष लिम्बू र सचिव वल्लभ गुरुङले संयुक्त रूपमा गरेका थिए।
लन्डनको रटिङमा बसोबास गर्दै आएका धरान–११ का २० वर्षीय युविन तामाङलाई गत अक्टोबर १८ मा बीएमडब्लु कारले ठक्कर दिएको थियो। बेलायती मिडियाका अनुसार, इष्ट लन्डनको इल्फोर्डस्थित रेड ब्रिज सडकमा बाटो काट्ने क्रममा र्यापर
 ‘गेट्स’द्वारा चलाइएको कारले उनलाई ठक्कर दिएको हो। दुर्घटनापछि अस्पताल पुर्‍याइएका युविनको उपचारकै क्रममा निधन भएको थियो।
उक्त दुर्घटनापछि फरार रहेका चालक ‘गेट्स’लाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरिसकेको बताइएको छ।