धरान : नगर प्रमुख हर्क साम्पाङको करोेडौं रुपैयाँको महत्त्वाकाङ्क्षी योजना सुम्निमा पारुहाङ प्रतिष्ठान सम्बन्धी सबै वित्तीय तथा संस्थागत कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले धरान उपमहानगरपालिकासँग माग गरेको छ ।
अख्तियारले मङ्सिर १४ गते पत्र पठाँउदै सुम्निमा पारुहाङ प्रतिष्ठानमा रकम अपचलन भएको उजुरी दर्ता भएको उल्लेख गरेको छ । अख्तियारले छानबिनको पहिलो चरणमा औपचारिक रूपमा अघि बढाउँदै कागजात माग गरेको हो ।
अख्तियारले पत्र पठाएसँगै नगर प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमा राईलो गरेका छन् । पत्र प्राप्त भएको पुष्टि गर्दै प्रमुख साम्पाङले सामाजिक सञ्जालमा ‘सुम्निमा पारुहाङ प्रतिमा किन बनाएको भनेर अख्तियारले सोधेछ ? हा हा ? राज्यले नबनाइदिए पछि आफै अघि सरेर बनाउनु परेन ????’ भनी लेखेका छन् ।
अख्तियारले धरान उपमहानगरपालिकाका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा ‘सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल’ दर्ता गराई नगरप्रमुख नै अध्यक्ष भएर चलाएको र सरकारी पर्ती ऐलानी जग्गा व्यक्तिबाट खरिद गरेर रकम दुरुपयोग अपचलन गरेको भनी उजुरी परेकोले सोही आधारमा छानबिन प्रक्रिया सुरु गरेको पत्र पठाएका छ ।
अख्तियारले उक्त उजुरीको छानबिनका लागि कागजातहरू उपलब्ध गराउँदा प्रतिष्ठानबाट भएको पत्राचारहरूको अनिवार्य रूपमा पत्र सङ्ख्या, दर्ता चलानी र मिति समेतको विवरण खुलाई फाइल पञ्जिका गरी पठाउन आग्रह गरेको छ ।
के छ अख्तियारमा परेको उजुरीमा :
अख्तियारमा परेको उजुरीमा ३ प्रमुख आरोप लगाइएको छ । नगरप्रमुख र केही कर्मचारीको मिलेमतोमा प्रतिष्ठान दर्ता भएको आरोपमा छ । स्थानीय तह कार्यपालिकाको नेतृत्वमा बसेका व्यक्तिले आफ्नै अध्यक्षतामा प्रतिष्ठान दर्ता गर्नु नै ‘हित–सङ्घर्ष’को विषय बन्छ ।
प्रतिष्ठानमा प्राप्त रकम मार्फत सरकारी (पर्ति) ऐलानी श्रेणीका जग्गा सार्वजनिक स्वामित्वका मानिन्छन् । यस्ता जग्गा व्यक्तिगत वा निजी संस्थाका नाममा खरिद गरी ल्याउने प्रक्रियाले स्वाभाविक रूपमा अनियमितता वा पहुँचको दुरुपयोगको आशङ्का जन्माउँछ ।
रकम अपचलन र श्रोत अस्पष्टता :
उजुरीमा प्रतिष्ठानमा आएको रकम कहाँबाट आयो, कसरी खर्च भयो, कसैका नाममा हस्तान्तरण भयो ? भनी सवाल उठाइएकोले अख्तियारले आर्थिक श्रोत र खर्च विधि दुवैको विस्तृत कागजात मागेको हो ।
अख्तियारले मागेका कागजातहरू :
आयोगले पत्रमा १५ दिनभित्र उपलब्ध गराउन प्रतिष्ठानको दर्ता प्रमाण–पत्र, दर्ता मिति, कुन कानुन अन्तर्गत दर्ता भएको हो, को को पदाधिकारी छन्, संस्थाको विधान र नियमावली, संस्थाको उद्देश्य, सदस्यता र संरचना, आर्थिक व्यवस्थापन कसरी गरिएको छ,निर्णय प्रक्रिया के हो ? कागजात विवरण मागेको छ ।
साथै आय–व्यय विवरण, रकमको स्रोत कसरी आयो खुलाउन, कुन शीर्षकमा खर्च भयो ? आधार कागजात के के छन् ? बैङ्क स्टेटमेन्ट, खाता कहाँ–कहाँ छ ? जम्मा कहाँ छ नाम झिकाइ कति रकम चेक ? भौचरको अभिलेख ? जग्गा खरिद ,बिक्री सम्बन्धी कागजात, सम्झौता, मालपोत दर्ता, अदालत फाइल, भौगोलिक अवस्थिति, मूल्याङ्कन प्रक्रिया सबैको कागजातहरू आयोगलाई प्राथमिक तथ्य पठाउन पत्रमा उल्लेख छ ।
नगरप्रमुख साम्पाङले गत मङ्सिर ९ गते साल्पा सिलिचुङबाट ढुङ्गा, माटो र पानी ल्याएर चिण्डे डाँडामा सुम्निमा पारुहाङको प्रतिमा शिलान्यास गरेका थिए । प्रतिमा निर्माण स्थलको जग्गाहरूबारे विगत बर्सहरू देखि नै विवादास्पद रहेको छ ।


































































