धरान: यु–१३ उमेर समूहको सहभागितामा धरान नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता मङ्सिर १८ गते देखी सुरु हुने भएको छ ।

प्रतियोगिताको आयोजना धरान–१५ नौलो पथ ब्याडमिन्टन क्लबले गर्न लागेको हो । क्लबकै ब्याडमिन्टन हलमा सञ्चालन हुने प्रतियोगितामा १३ वर्ष समूहका प्रतियोगीहरूलाई पहिलो पटक समावेश गरिएको अध्यक्ष दीपेन्द्र पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा ‘मेन डबल’ तथा ‘यु–१३’ सिङ्गल, मेन्स डबलतर्फ विजेताले नगद २० हजार, उपविजेताले १० हजार ५ सय, तृतीय पुरस्कार ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै १३ वर्षका महिला तथा पुरुष खुल्ला तर्फका विजेताले ५ हजार, उपविजेताले ३ हजार र तृतीय हुने खेलाडीले १ हजार ५ सय नगद सहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी सहभागी हुन पाउने छैनन् । प्रतियोगितामा अन्डर १३ का खेलाडीहरूले उमेर प्रमाणित गर्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

दर्ता शुल्क मेन डबल प्रति खेलाडी ७५० रुपैयाँ,१३ वर्ष मुनिका लागि ३ सय रुपैयाँ तोकिएको कोषाध्यक्ष मनिष मगरले बताए ।

प्रतियोगिता सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ । प्रतियोगिताको संयोजक सुमन मगर, सह–संयोजक देवेन खड्का छन् ।