धरान: आज उधौंली पर्व चासोकसंगै किरात सिरिजंगा लिपिका प्रवर्धक सिरिजंगा सिंह थेबेको ३२१ औँ जन्म जयन्ती पनि मनाइँदै छ ।लिम्बु/याक्थुङ भाषाका ऐतिहासिक लालमोहर, दस्ताबेज, लिखतहरू सिरिजंगा लिपिमै लेखिएका छन् ।

पछिल्लो समय सिरिजंगा लिपिलाई किरात समुदायका भाषाहरू लेखनमा प्रयोग हुन थालेको छ । त्येअङसी सिरिजंगाको सम्मानमा नेपाल सरकारले २०४९ सालमा १ रुपैयाँ मूयको हुलाक टिकट प्रकाशन गरेको छ ।

जन्म जयन्तीको अवसरमा धरान तिन कुनै स्थित सिरिजंगाको पूर्ण कदको शालिकमा आज बिहान किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले माल्यार्पण गरेको छ । च्याब्रुङ सहितका नृत्य टोलीले सिरिजंगाको सम्मानमा शालिक परिक्रममा गरी माल्यार्पण गरेको हो ।

सिरिजंगा लिपिका प्रथम प्रवर्धक सिरिजंगाको जन्म जयन्ती आज मङ्सिरे पूर्णिमाको  दिन मनाइँदै आएको छ । त्येअङसी सिरिजङगाको जन्म वि.स. १७६१ साल मङ्सिर २९ गते ताप्लेजुङको सरिजङ्गा गाउँपालिका–४, तेल्लोकमा भएको थियो ।

उनले नवौँ शताब्दीमा सिरिजंगा हाङ नामका राजाले आविष्कार गरेको किरात लिपिलाई १८ औँ शताब्दीमा पुनः उत्थान गरी व्यापक प्रचार–प्रसार गरेका हुन । त्यसैलाई उनलाई लिम्बु भाषामा सिरिजंगा हाङका अवतारका रूपमा त्येअङसी भन्ने गरियो ।

त्येअङसी सिरिजंगाको बारेमा प्राज्ञ वैरागी काईलाले लिम्बु भाषामा सिरिजंगा लिपि पढाउँदै आएकामा रणबहादुर शाहका पालामा राज्यबाट कठोर सजायको भागिदार भइन्छ भनेर भाषा लिपिको प्रचारका लागि त्येअङसी शिरिजंगा सिक्किम पसेको उल्लेख गरेका छन् ।

सिक्किममा लिपि र भाषालाई संरक्षण गर्न सिरिजंगलाले बलिदान दिनु परेको थियो । तत्कालीन सिक्किमका शासकहरूले उनको भाषा लिपि प्रचारले त्यहाँको शासकीय सत्तामा खतरा पुर्‍याएको भनी सिरिजंगाको हत्या गरे । भाषा लिपिको लागि सहादत प्राप्त गरेका सिरिजंगालाई वीर सहिदको रूपमा पनि मानिन्छ ।

उनी वि.स. १७९६ माघ महिनाको पहिलो हप्ता चेलाहरूसँग सिक्किम प्रवेश गरेको इतिहास पाइन्छ । अनुसन्धाता अर्जुनबाबु माबुहाङका अनुसार शिरिजंगाले चलाएको लिपिलाइनै सिरिजंगा लिपि भनिन्छ । जुन किरातहरूको आफ्‌नो लिपि हो ।

कक्षा १० को पाठ्यक्रममा सिरिजंगालाई जातीय अस्तित्वका रक्षक, अध्यात्मवादी समाज सुधारक, महान् उपदेशकै, ज्ञानका पुञ्ज, किराँती लिपिका पुनरुत्थान र प्रचारक, भाषा, धर्म र संस्कृतिका उत्थानकर्ता भनेर भनिएको छ ।

sirjanga-lipi-ticket