इटहरी : नेपाली काँग्रेसले डेढ महिना लामो केन्द्रीय समिति बैठकपछि महाधिवेशनको मिति घोषणा गरेको छ । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको लागि विशेष महाधिवेशनको मागलाई सुनुवाइ हुनेगरि पौष २६ देखि २८ गते महाधिवेशनको मिति घोषणा गरेको हो ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहितको माग निवेदन केन्द्रीय समितिमा दर्ता भएपछि दबाबमा आएका सभापति शेरबहादुर देउवाले फाल्गुन २१ को निर्वाचन अगाडी नै महाधिवेशन गराउन सहजीकरण गरे ।
कार्यबहाक सभापतिको जिम्मेवारी पाएका पूर्ण बहादुर खड्काले विशेष महाधिवेशन पक्षधर र निर्वाचन पछि महाधिवेशन गर्नुपर्छ भन्ने पक्षधरलाई सहमतिमा ल्याउन नसकेपछि सभापति देउवा सक्रिय बनेका हुन् । उनैको सक्रियतामा महाधिवेशनको मिति तय भएको हो ।
काँग्रेस १५ औँ महाधिवेशनको तयारीमा होमिएको बेला सुवेच्छुक तथा सरोकारवाला बौद्धिक व्यक्तित्वहरूले चासो दिएका छन् । नेपाली काँग्रेसले लामो समयदेखि आफ्नाे सैद्धान्तिक धरातल बिर्सिएको हुँदा सिद्धान्त र कार्यक्रम बिचको तादम्यता मिलाउनुपर्ने मत उनीहरूको छ । विचारधारामा पार्टी सफल भएको तर सिद्धान्तमा असफल हुँदै गएको उनीहरूको तर्क छ । कम्युनिस्ट पार्टीको चरित्र काँग्रेस पार्टीमा हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै आन्तरिक लोकतन्त्र र समाजवादी अभ्यासलाई अवलम्बन गर्नुपर्ने बताइएको छ ।
बिपी अध्ययन प्रतिष्ठान नेपालका अध्यक्ष धर्मेन्द्र नेम्वाङको संयोजकत्वमा गठित सुझाव तयारी समितिले ११ बुँदे सुझाव प्रस्तुत गरेको हो । इटहरीमा पत्रकार तथा पार्टीका सुवेच्छुक सँगको संवादमा नेम्वाङले लोकतन्त्र जीवन्तता नेपाली काँग्रेसको मजबुती र सैद्धान्तिक स्पष्टतामा निर्भर हुने बताए ।
पुर्वमन्त्री तथा काँग्रेस नेता नरहरि आचार्य, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, साहित्यकार कृष्ण धाराबासी, कवि श्रवण मुकारुङ, नेपाली लेखक संघका पूर्व अध्यक्ष डाक्टर बिष्णुविभु घिमिरे लगायत ११ जनाले हस्ताक्षर गरेर सुझाव पत्र बुझाएका हुन् । सुझाव पत्र तयारी समितिका सदस्य समेत रहेका बिपी अध्ययन प्रतिष्ठान मोरङका अध्यक्ष रन्जन ओझाले नवप्रवर्तन मार्फत उद्यमशीलताको विकास गर्नुपर्ने बताए ।
काँग्रेस पछिल्लो समय सैद्धान्तिक रूपमा विचलित भइरहेको परिपेक्षलाई दिशानिर्देश गर्न १५ औँ महाधिवेशनले सही नीति बोकेको नेतृत्व चयन गर्नुपर्ने विचार व्यक्त गरे । संविधानको समयानुसार संशोधन र पर्यावरणमैत्री विकासलाई प्राथमिकता दिनुपर्ने उनको मत छ । आगामी १५ महाधिवेशनले नेपाली काँग्रेसलाई नयाँ र ताजा बनाउन सक्ने बताउँदै ओझाले लोकतन्त्र र प्रविधिमैत्री पार्टी निर्माणमा लाग्न आह्वान गरेका छन् ।

































































