धरान : केन्द्रीय प्रविधि क्याम्पसको प्रशासनिक भवन निर्माणको आज शुक्रवार बिहान शिलान्यास गरिएको छ । क्याम्पस स्थापना भएको ५२ वर्ष पछि बल्ला प्रशासनिक भवन निर्माण हुन लागेको हो ।

क्याम्पस प्रमुख प्राध्यापक वसन्तकुमार राई, सञ्चालक समिति अध्यक्ष प्राडा.धनबहादुर कार्की, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले शिलान्यासको इँटा राखेर भवन निर्माणको थालनी गरेका हुन ।

प्रशासनिक भवन कोशी प्रदेश सरकारले निर्माण गरिदिन लागेको हो । भवन निर्माणको ठेक्का सिमवाली क्रिपाम जेभी टोखा काठमाण्डौले साइट क्लियर गरी निर्माण कार्य सुरु गरेको छ । कम्पनीले भ्याट र कन्टेन्जेन्सी बाहेक प्रदेश सरकारको कुल १ करोड, ६६ लाख, १३ हजार ५०७ रुपैयाँमा ठेक्का लिएको हो ।

कम्पनीका सुपरभाइजर अनिल श्रेष्ठका अनुसार ठेक्का अनुसार अन्डर ग्राउन्ड समेत ३ तलाको प्रशासनिक भवनमा अपाङमैत्री शौचालयहरू, भर्‍याङ सहितका ७ वटा कोठाहरू हुनेछन् । त्यस मध्ये एक १०८ जना अटाउने सम्मेलन कक्ष रहने छ ।

ठेक्का सम्झौता अनुसार २ वर्ष भित्र निर्माण कार्य सम्पन्न गरी सक्नु पर्ने शर्त भएमा पनि एक वर्ष भित्रमा क्याम्पसको प्रशासनिक कार्य सञ्चालन गर्न सकिने गरी निर्माण सम्पन्न गर्ने प्रतिबद्धता कम्पनीले गरेको छ । कम्पनीका प्रोप्राइटर धर्मेन्द्रकुमार चौधरीले भने ‘यसमा हामी प्रतिबद्ध छौँ ।’

नेपालमा पहिलो पटक त्रिवि अन्तर्गत व्यवहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्थापना भई २०३० सालमा धरानमा डिन कार्यालय सहित केन्द्रीय प्रविधि क्याम्पस सञ्चालन भएको थियो । क्याम्पसका शैक्षिक भवनहरू बनेता पनि प्रशासनिक भवन भने पुरानो अतिथि गृहमा सञ्चालन हुँदै आएको छ ।

त्रिविको नीति अनुसार २०६९ मा क्याम्पस स्वायत्ततामा गएपछि विज्ञानका अन्य विषयहरूमा पनि पठन पाठन हुँदै आएको छ । स्वायत्ततामा गएबापत ठुलै अनुदान प्राप्त भए पनि छुट्टै प्रशासनिक भवन बनाउने बजेट प्राप्त भएन । बल्ल ५२ वर्षमा क्याम्पसमा कोशी प्रदेश सरकारको बजेटमा भवन निर्माण सुरु भएको हो ।

क्याम्पस प्रमुख प्राध्यापक वसन्तकुमार राईले भने ‘शैक्षिक भवनहरू बने पनि त्यस बेला देखी गेस्ट हाउसको लागि बनेको भवनबाट अहिले पनि प्रशासनिक कार्य सञ्चालन भइरहेको छ ।’ क्याम्पसको हाल प्रशासनिक कार्यालय सञ्चालन भइरहेको भवन अतिथि गृह भएकोले साँघुरो छ ।

छात्र र छात्राको छुट्टै छात्रावास, प्राध्यापकहरूका आवासीय भवनहरू बने पनि क्याम्पसको छुट्टै प्रशासनिक भवन बनेको नबनेको उनले बताए । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा क्याम्पसको प्रशासनिक भवन निर्माण गर्ने प्रस्ताव स्वीकृत गरेपछि निर्माण प्रक्रिया अघि बढेको हो ।

निर्माण कार्यको लागि गत २०८२ वैशाख ८ गते प्रदेश सरकाको पूर्वाधार विकास कार्यालयले टेण्डर आव्हान गरेको थियो । क्याम्पसले प्रस्ताव गरेको डिजाइन अनुसार ३ तलाको प्रशासनिक भवनमा ११ वटा कार्यकक्ष र तेस्रो तलामा रुपटप सभा हल रहेको छ ।

भवनको पहिलो तलामा क्याम्पस प्रमुखको कार्यालय, सहायक क्याम्पस प्रमुख कक्ष २ वटा,प्रशासन कक्ष, बैठक कक्ष र किचन हुनेछ । दोस्रो तलामा आइटी रुम, लेखा शाखा कक्ष, दर्ता चलानी कक्ष, स्टोर रुम र परीक्षा शाखा कक्ष रहनेछन् ।

bhwan-shilayans