धरान : केबी साम नेपाल कबड्डी लिग एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले राष्ट्रिय कबड्डी च्याम्पियनसिपको आयोजना गर्ने तयारी गरेको छ । यसै क्रममा काठमाडौँ उपत्यका अन्तर स्कुल ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आइतबार देखी हुने भएको छ ।
प्रतियोगिताको क्षेत्रीय छनौट प्रतियोगिता पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा पनि आयोजना गरिनेछ ।
उपत्यकाको छनौट प्रतियोगिता भक्तपुर स्थित मिड भ्याली सेकेन्डरी स्कुलमा २ दिन चल्ने छ । प्रतियोगितामा ८ स्कुल सहभागी हुनेछन् । नकआउटको आधारमा हुने छनौटको विजेता स्कुल टिम राष्ट्रिय स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गर्नेछ ।
क्षेत्रीय छनौट प्रतियोगिताको विजेता स्कुलहरू सहित कुल ६ टिमले एनकेएल सिजन–२ कै अवसरमा हुने एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
सिजन २ को तयारीमा रहेको एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रास रुट स्तरबाटै विकास गर्ने प्रयासमा स्कुल कबड्डी च्याम्पियनसिप आयोजना गर्न लागेको हो । प्रतियोगिताले नेपाली कबड्डीप्रति आकर्षण बढ्ने विश्वास गरिएको एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमृतकुमार बेगानीले बताए ।
बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी सङ्घको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफल आयोजन गरेको थियो । सङ्घसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो ।
यसपालि दोस्रो संस्करणको तयारी भइरहेको छ । सिजन–२ को केबी साम एनकेएलको लागि ५१२ जना नेपाली खेलाडीले नाम दर्ता गराइसकेका छन् । यो सङ्ख्या गत वर्षभन्दा झन्डै दोब्बर हो ।


































































