वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको छ ।

नगर अस्पतालले सुरु गरेको विशेषज्ञ सहितको दन्त सेवाको अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका छन् ।

शुक्रवार भएको दन्त सेवाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडा नं. ६ का अध्यक्ष उद्भव प्रसाद पोखरेल, वडा नं. ७ का अध्यक्ष कपिल आचार्य, अस्पताल सञ्चालन समितिका सदस्य अनु गुरुङ, रत्न बहादुर राउत, नगर स्वास्थ्य शाखाका प्रमुख दन्त रोग विशेषज्ञ डाक्टर धनराज यादव, महेन्द्रनगर स्वास्थ्य केन्द्रका प्रमुख पृथ्वी चन्द्रभगत नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्ट, अस्पतालका चिकित्सकहरू, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नगरबासीहरूले दन्त सेवाको माग गरेको र आवश्यकता बमोजिम आधुनिक उपकरणको व्यवस्थापन गरी नगर अस्पतालबाट विशेषज्ञ सहित दन्त सेवा सुरु गरिएको नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले बताए ।

नगर बासीको स्वास्थ्य सम्बन्धी आधारभूत आवश्यकतालाई पूरा गर्न नगर अस्पतालले सेवा बिस्तार गर्न योजना बनाएर र सोही अनुसार विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको उनले बताए । नगर अस्पतालबाट अप्रेसन सहितको आँखा उपचार केन्द्र, आधुनिक आकस्मिक कक्ष, नयाँ भवन, आधुनिक भिडियो एक्सरेको खरिद गरी सेवालाई थप व्यवस्थित र बिस्तार गर्दै आएको कार्कीले बताए ।

अस्पतालको आन्तरिक स्रोतबाट ९ लाखबाट आधुनिक उपकरण खरिद गरी विशेषज्ञ सहितको दन्त सेवा बिस्तार गरिएको नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले जानकारी दिए । उक्त सेवा शनिवार र सार्वजनिक बिदाको दिन बाहेक बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । उक्त सेवा नगर स्वास्थ्य शाखाका प्रमुख दन्त रोग विशेषज्ञ डाक्टर धनराज यादवले दिनेछन् ।

हाल दैनिक अस्पतालमा २ सय ७५ देखि ३ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ।

२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, फिजोयोथेरापी सेवा, आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भई राखेको र हाल विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले बताए ।

हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधुनिक आकस्मिक कक्ष निर्माण भएको त्यस्तै सामान्य शल्यक्रिया कालागि भवन पनि निर्माणाधीन रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।

nagar-aspatal-1