विराटनगर : देश बचाउन सेना र प्रहरी मात्र पर्याप्त नहुने कुरा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
विराटनगरमा आज सोमवार आयोजित सभामा उनले भने ‘विदेशी हस्तक्षेप र राष्ट्रिय सङ्कटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त हुँदै ।’ त्यसका लागि ३ करोड नेपाली जनताको राष्ट्रिय फौज तयार गर्नुपर्ने उनले बताए ।
पार्टी एकीकरणको सन्देश दिन आयोजित सभामा संयोजक दाहालले नेपालसँग ठुला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउने सामर्थ्य नभए पनि जनताको तागत भने रहेको बताए ।
उनले जेनजी प्रदर्शनमा सिंहदरबारमा भएको आगजनीलाई औँल्याउँदै भने ‘हाम्रो सेनाले सायद चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन ।’ राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र पुग्दो रहेनछ भन्ने उनको भनाई थियो ।
भ्रष्टाचार र राष्ट्रिय स्वाधीनता निम्ति लड्न शक्ति नपुगेकोले मुलुक गम्भीर राष्ट्रिय सङ्कटमा पुगेको बताउँदै सम्पूर्ण वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको उनको भनाई थियो ।
दाहालले ‘एकता अभियान’ सुरु भएको बताउँदै एकता चुनाव जित्नका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण र समृद्धिको आधार निर्माण गर्नका लागि भएको बताए ।
उनले फागुन २१ गते तोकिएको निर्वाचन हुनै पर्ने बताए । दाहालले भने ‘वर्तमान सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह गर्दछु ।’ पछिल्लो समय सरकार सम्बन्धित पक्षहरूसँग छलफलमा रहेकोले चुनाव निश्चित हुने विश्वास बढेको उनको भनाई थियो ।
भदौ २४ गतेको जेनजी विद्रोहलाई दाहालले ‘असाधारण सङ्कट’ भएको बताए । उनले भने ‘त्यो दिन ऐतिहासिक धरोहरहरू जलेर ध्वस्त भयो, देश झन्डै दुई दिनसम्म राज्य विहीनताको अवस्थामा पुगेको थियो ।’
जेनजीे आन्दोलनले पुराना राजनीतिक दलहरूलाई झकझक्याएको उनले बताए । दाहालले भने ‘जेनजी पुस्ताका युवाहरूको आन्दोलनले हामीलाई आत्म समीक्षा गर्न प्रेरित ग¥यो ।’ विचार बुढो र तन्नेरी नहुने बताउँदै छोराछोरी र नातिनातिना पुस्तासँग सिक्न तयार हुनुपर्ने समय आएको उनले बताए ।
वर्तमान सरकारलाई चुनावी सरकारको हैसियतमा मात्र रहन चेतावनी दिदैं उनले भने ‘चुनाव गराउने म्यान्डेट पाएको सरकारले दीर्घकालीन असर पर्ने खालका सन्धि सम्झौता गर्न हुँदैन ।’ यदि यो सरकारका मन्त्रीहरूले दीर्घकालीन खालका सन्धि सम्झौता अगाडि बढाउँछन् भने त्यो म्यान्डेट विपरीत हुने उनको भनाई थियो ।
दाहालले १६ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले अब वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र रोजगारी सिर्जनाको नेतृत्व गर्ने दाबी गरे ।



































































