धरान : जनता समाजवादी पार्टीका अध्यक्ष पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले तोकिएको मितिमै चुनाव हुनुपर्ने पक्षमा पार्टी रहे पनि देशको वर्तमान राजनीतिक अवस्था गम्भीर भएकोले भय, त्रास र अशान्त वातावरणमा भने चुनाव हुन नसक्ने बताएका छन् ।

धरानको हरियाली सामुदायिक वनमा आज बिहीबार आयोजित कोशी प्रदेश अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम बिच सञ्चारकर्मीहरूसँग भने ‘फागुन २१ हुने भनिएको निर्वाचन भय र अशान्त वातावरण, प्रहरीको मनोबल गिरेको अवस्थाले अनिश्चितता बढेको छ ।’

फागुन २१ मै चुनाव हुनुपर्छ भन्ने अडानमा पार्टी स्पष्ट रहेको उनले बताए । तर वर्तमान परिस्थितिमा निर्वाचनको सम्भावना कमजोर देखिएको उनको भनाई थियो । सैद्धान्तिक रूपमा तोकिएको मितिमा चुनाव हुन आवश्यक छ, तर व्यवहारिक रूपमा अहिलेको स्थिति हेर्दा चुनाव हुन नसक्ने अध्यक्ष यादवको भनाई थियो ।

राष्ट्र राजनीतिमा आवश्यकताको सिद्धान्त आवश्यक भएको बताउँदै यादवले राज्यप्रति दलहरू जिम्मेवार हुने बेलामा एमाले, काँग्रेस राष्ट्रप्रति जिम्मेवारी पूर्वक प्रस्तुत नभएको कारण हालको अवस्था सिर्जना भएको उनले बताए ।

नेपाली कम्युनिस्ट पार्टीसँगको एकता बारे सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष यादवले भने ‘हाम्रो जसपा कम्युनिस्ट पार्टी होइन समाजवादी पार्टी हो, कम्युनिस्ट पार्टीसँग विचार सिद्धान्त मिल्दैन ।’ जसपा समाजवादी पार्टी भएकाले कुनै पनि कम्युनिस्ट पार्टीसँग एकता नहुने उनको भनाई छ ।

अशोक राईको पार्टीसँग एकता कहिले हुने भन्ने प्रश्नमा यादवले राई समूहलाई पार्टी भएको आधिकारिकता नभएको बताए । उनले भने ‘आधिकारिकता नभएको समूहसँग एकताको अर्थ हुँदैन, छुटेर जानुभयो, फर्केर आउनुस् हाम्रो आग्रह यही हो ।’

अशोक राईलाई लक्षित गर्दै यादवले भने, ‘कता–कता भागिरहनु भन्दा आफनै घर फर्केर आउनु भनेको मात्र हा, अन्त दुनियाँ तिर छिरेर दिन काट्नु भन्दा मूल पार्टीमै सँगै काम गरौँ ।’