धरान : नेपालका आदिवासी लिम्बु समुदायले पछिल्लो समय उधौंलीलाई मुख्य पर्वको रूपमा विकास गरेको किरात याकथुङ चुम्लुङले जनाएको छ ।

धरानमा सदा झैँ यसपाली पनि आयोजना हुने ५ दिने चासोक तङनाम उत्सवको जानकारी दिन आज सोमवार आयोजित पत्रकार सम्मेलनमा चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले भने ‘लिम्बु जातिले दसैँको ठाउँमा चासोकलाई मुख्य पर्वको रूपमा विकास गरिसकेको छ।’

मुन्धुम अनुसार लिम्बु जाति कृषि युगमा प्रवेश गरेपछि पाकेको अन्नबाली प्रकृतिलाई चढाएर उपभोग गर्ने उधौंली अनुष्ठान चासोक परम्परागत रूपमा घर घरमा गरिन्थ्यो । राणा कालमा राजनीतिक कारणले भाषा, संस्कृति समाप्त गरिएपछि मौलिक पर्वहरू ओझेलमा परेको थियो । २०४६ सालको परिवर्तनले भाषिक, सांस्कृतिक अधिकार केही अंशमा पूनःस्र्थापत गरेपछि संस्थागत रूपमा चासोक मनाउन थलिएको उनले बताए ।

उनले भने ‘किरात याकथुङ चुम्लुङले संस्थागत रूपमा सामूहिक मनाउँदै आएको चासोक अहिले मुख्य पर्वको रूपमा स्थापित भएको हो ।’ यसबाट लिम्बु समुदायमा सांस्कृतिक पुनर्जागरणको युग सुरु भएको अध्यक्ष मादेम्बाको भनाई थियो ।

चुम्लुङ केन्द्रीय सल्लाहकार हर्ष सुब्बाले चुम्लुङको धरानमा २०५० सालमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले चासोक तङनामलाई लिम्बु समुदायको मुख्य पर्वको रूपमा विकास गर्ने निर्णय गरेको थियो । सोही वर्ष देखी धरान–१९ किरातेश्वर माविको प्राङ्गणमा पहिलो ३ दिने चासोक  उत्सव आयोजना गरिएको बताए ।

चुम्लुङका निवर्तमान जिल्ला अध्यक्ष, सांस्कृतिक अभियन्ता मोहनकुमार हुक्पाचोङबाङले संस्थागत रूपमा मनाइँदै आएको चासोक फेरी घर घरमा वडा वडामा मनाउन थालिएको बताए । उनले भने ‘अन्नबाली पाकेपछि चढाउने पूजामा सीमित भएको चासोक अहिले सामूहिक र घर घरमा मनाउने पर्व भएको छ ।’

धरानमा चासोक मेला लिम्बु जातिको सांस्कृतिक पर्वको रूपमा सबैका लागि चासोको विषय हुँदै आएकोले यसपाली पनि ५ दिने उत्सव आयोजना गरिएको नगर अध्यक्ष मादेम्बाले जानकारी दिए ।

मङ्सिरे पूर्णिमाकै दिन किरात सिरिजंग लिपिका प्रवर्द्धन सिरिजंगाको जन्म जयन्ती पर्ने भएकोले धरान–८ तीनकुने स्थिति सिरिजंगको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम हुने बताइएको छ । उक्त चौकलाई चुम्लुङ नगर समितिले धरान उपमहानगर समितिको सहकार्यमा गत: वर्ष सिरिजंगा चौक नामाकरण गरेको छ ।

यसपाली मङ्सिर १७ गते धरान–१४ विजयपुर स्थित किरात कालिन लिम्बुवानका राजाको गढी स्थल सरसफाईबाट चासोक पर्व सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । १८ गते सांस्कृतिक र्‍याली  प्रदर्शन गरिने छ । साँझ चासोक तङसिंङ अनुष्ठान, गडी स्थलमा पूजा अर्चना गरिने छ ।

मङ्सिर १९ गते चासोक उद्घाटन समारोह एवं बाल कलाकारहरूको सांस्कृतिक कार्यक्रम हुनेछ । २० गते यालाङ धान नाच, केलाङ च्याब्रुङ नाच प्रतियोगिता, पालाम, ख्याली लिम्बु गीत प्रस्तुति हुनेछ । २१ गते लिम्बु जातिको परम्परागत खेलकुदहरूको प्रतियोगिता हुनेछ ।

प्रत्येक दिन साँझ साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । अध्यक्ष मादेम्बाका अनुसार यस पाली लोकप्रिय गायक दीपक लिम्बु सहित राष्ट्रिय कलाकारहरूका प्रस्तुति हुनेछ । २२ गते समापनको अवसरमा आदिवासी जनजाति महासङ्घ सम्बद्ध संस्थाहरूको जातीय सांस्कृतिक प्रस्तुति हुनेछ ।

चासोक उत्सवका लागि जाति खानपानका परिकार सहित प्रदर्शनीका २५ वटा स्टलहरू चुम्लुङ हिम परिसर र बाहिर तयारी थालिएको छ । उत्सवकै अवसरमा मङ्सिर २१ गते चुम्लुङ हिममा निःशुल्क आँखा उपचार शिविर पनि सञ्चालन हुने जानकारी दिइएको छ ।