धरान : धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्रबिक्रम बेघाले आदिवासी जनजातिको सांस्कृतिक अधिकारको संरक्षण, एकता प्रवर्द्धनका लागि सही नेतृत्व चयनको आवश्यकता बढेको बताएका छन् ।
लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नामको उद्घाटन अवसरमा उनले भने ‘आदिवासीको सांस्कृतिक अधिकारको संरक्षण र एकताको नारा राजनीतिक स्वार्थको कुरा बनेकाले सही नेतृत्व समयमै चिन्नु आवश्यक छ ।’
आदिवासी जातिलाई संविधानले दिएका अधिकार मात्र पर्याप्त नभएको बताउँदै सही नेतृत्व छान्न नसके प्राप्त अधिकार पनि गुम्ने उनले बताए । मतदान मार्फत आदिवासी तथा सांस्कृतिक अधिकारको रक्षा गर्नु पर्ने बेला आएको बताउँदै उपप्रमुख बेघाले भने ‘विविधतामा एकताको लागि सबै जातीय समुदायबिच पारस्परिक सम्मान जरुरी छ ।’
उनले जातीय सांस्कृतिक पर्वहरूमा नयाँ पुस्ताको आकर्षण बढाएर उनीहरूलाई संस्कृतिको पुस्तान्तरण आवश्यक भएको बताउँदै भने ‘अबको सामाजिक, सांस्कृतिक परिवर्तनको वाहक नयाँ पुस्ता हो, उनीहरूले सांस्कृतिक संस्कार, परम्परा ग्रहण नगरे पूर्ण अधिकार प्राप्तिमा हामी पछि पर्छौ ।’
किरात याकथुङ चुम्लुङ केन्द्रीय उपमहासचिव डा.योेगेन्द्र पालुङवाले चासोक तङनाम लिम्बु जातिको प्रमुख पर्वको रूपमा विकास भैसकेको बताउँदै भने ‘घर घरमा मनाइने चासोक हाम्रो सांस्कृतिक पहिचानको समृद्ध पर्व हो ।’
केन्द्रीय सदस्य सङ्गीता सुब्बाले भाषा, संस्कृतिको संरक्षण चाड पर्वको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताउँदै चासोक पर्वमा समुदायको सहभागिताले लिम्बु जातिको सांस्कृतिक पुनर्जागरण नयाँ युगमा प्रवेश गरेको बताइन् ।
चुम्लुङ पूर्व जिल्ला अध्यक्ष तथा सांस्कृतिक अभियन्ता मोहनकुमार हुक्पाचोङबाङले चासोक पर्व लिम्बु जातिको भावनात्मक एकतालाई बलियो बनाएको बताए । धरान–१५ का वडाध्यक्ष नरेशकुमार इङवारमले शुभकामना प्रकट गरेका थिए । कार्यक्रमको सभापतित्व चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले गरेका थिए ।
समारोहमा आदिवासी जनजाति समुदायका राई, तामाङ, नेवार लगायत प्रतिनिधिहरू सहभागी थिए । किरात याकथुङ चुम्लुङ धरान नगर समितिको आयोजनामा शुक्रवार देखि धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा ५ दने चासोक तङ नाम सांस्कृतिक पर्यटन महोत्सव सुरु भएको हो ।
महोत्सवमा पुरुषले तागावा र महिलाले मेख्ली सहित परम्परागत जातीय गहना लगाएर नाच, खेल र मनोरञ्जनका कार्यक्रमहरू सञ्चालन गरिएको छ । आजको कार्यक्रममा बाल सांस्कृतिक प्रवर्द्धन लिम्बु खेलकुद छेलो हान्ने, माछा मार्ने, तिरबाजी, हक्चुम लक्मा लङ्जम्प लगायत प्रतियोगिता आयोजना गरिएको थियो । साँझमा सांस्कृतिक, साङ्गीतिक कार्यक्रम रहेको चुम्लुङले जनाएको छ ।
महोत्सवमा हिजो साँझ पारिवारिक मेलमिलापको अनुष्ठान ‘तङसिङ’ सम्पन्न भएको छ । उक्त अनुष्ठानमा येबा, साम्बा, फेदाङमाहरुले लिम्बु जातिको सृष्टि र मानव सभ्यता तथा विकासको कथा वाचन गर्नेछन् ।




































































