सुनसरी : द नेप्लिज एसोसिएसन हङकङ को आयोजनामा वरिष्ठ गायक दीप श्रेष्ठले आइतबार साँझ हङकङको जोर्डनस्थित नाथान रोड क्षेत्र गुञ्जायमान बनाएका छन्। नयाँ वर्ष २०२६ को अवसरसहित श्रेष्ठको ७५औं जन्मोत्सव विशेष बनाई ‘न्यू इयर सेलिब्रेशन म्युजिकल ग्यादरिङ’ आयोजना गरिएको थियो।
मध्यरातसम्म चलेको कार्यक्रममा नेपाली सुगम संगीतका पारखीहरूका बीच श्रेष्ठले दर्जनभन्दा बढी आफ्ना कालजयी गीत प्रस्तुत गर्दै जीवनको अनुभवसमेत साटेका थिए। उनले ‘म त टाढैदेखि आएँ तिम्रो नाम बोकेर’ बाट कार्यक्रम सुरु गरी ‘हुँ यात्रि एउटा रुमल्लिने अँधेरी रातमा’, ‘मेरो आँखामा भरदिन बादल छाइरह्यो’ लगायतका लोकप्रिय गीत सुनाएका थिए।
विश्रामपछि उनले मातृभूमि सम्झिँदै ‘कति कमजोर रहेछ भाग्य’, ‘हर रात सपनिमा ऐंठन हुन्छ गाउँमा सायद पहिरो गयो कि’ लगायतका गीत प्रस्तुत गरे। कार्यक्रममा हङकङका धेरै कलाकारहरूले पनि साथ दिएका थिए।
द नेप्लिज एसोसिएसनका अध्यक्ष प्रदीप थापाले हङकङको व्यस्त जीवनबीच नेपाली सुगम संगीतका पारखीहरूलाई एकै ठाउँमा भेला भएर मनोरञ्जन र आपसी भलाकुसारी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
जेडीमलस्थित एभरेष्ट रेस्टुरेन्ट एण्ड बारमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी देवराज राईले सञ्चालन गरेका थिए। कार्यक्रममा याउचि मोङ्ग डिस्ट्रिक काउन्सिलर वेनी युङ र अरुणा गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ, एनआरएन हङकङकी अध्यक्ष अनु राई, चेम्बर अफ कमर्सका मनोज गौतमलगायत व्यक्तित्वहरूको उपस्थिति थियो। त्यस्तै महासंघका पूर्व अध्यक्ष टंक राना, रिता गुरुङ, हेम लिम्बू लगायतको पनि सहभागिता रहेको थियो।
कार्यक्रमअघि गायक श्रेष्ठलाई धरान युथ क्लबका अध्यक्ष अमोद तुलाधर, धरान हङकङ मञ्चका इन्द्र वनेम, संजोग राई, शान्त राई, जीवन यात्रा सहयोगी समूह हङकङका विक्रम आले र मनि याक्खाले सम्मान गरेका थिए।
कार्यक्रम सफल बनाउन धरान हङकङ मञ्च, धरान युथ एसोसिएसन हङकङ, जीवन यात्रा सहयोगी समूह, गोर्खा युथ एसोसिएसन र नेपाल क्लब हङकङले सहकार्य गरेको आयोजक पक्षले जनाएको छ।



































































