धनकुटा : धनकुटामा पूर्वी पहाडी भेगको कृषि उत्पादन औद्योगीकरण गर्न निर्माण भएको औद्योगिक ग्राम ५ वर्षमा पनि पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।
५२ रोपनी क्षेत्रफलमा बनेको ग्राममा २७ वटा औद्योगिक भवनहरू छन् । अहिले सम्म केवल ९ वटा लघु उद्योग सञ्चालनमा छन् । 
औद्योगिक ग्रामको स्थापनाले कृषि कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग प्रवर्द्धन हुन विश्वास गरिएको थियो । 
अपेक्षित उद्देश्यतर्फ औद्योगिक ग्राम अघि नबढेपछि कोशी प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।
मुख्यमन्त्री केदार कार्कीले मङ्गलवार ग्रामको अवलोकन गरी नयाँ ढङ्गले अघि बढाउने तदारुकता देखाएका छन्।
उनले आउँदो ६ महिनाभित्र औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने खाका १५ दिन भित्र बनाउन ग्रामका अध्यक्ष तिलक महतलाई निर्देशन दिएका छन् ।
पूर्वाधार पर्याप्त भएपनि औद्योगिक ग्रामलाई पूर्णरुपमा सञ्चालन गर्न खाका बनाउन नसक्ने हो भने कारबाहीको चेतावनी समेत मुख्यमन्त्रीले दिए ।
जिल्ला घरेलु तथा साना उद्योग कार्यालय प्रमुख ईश्वर थापाका अनुसार औद्योगिक ग्राममा अहिले सम्म सेनेटरी प्याड र खाद्यान्न सामाग्रीहरू थोरै परिणाममा उत्पादन हुन्छ ।
मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने बताउँदै सञ्चालनका लागि प्रतिबद्धता जनाएका छन् ।
उनले भने ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै औद्योगिक ग्रामको उद्देश्य पुरा हुन्छ ।’