धरान: धरानको वडा नं ६ पानवारीमा औद्योगिक ग्राम बनाउन उपमहानगरपालिकाले गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ ।

मन्त्रीपरिषद बैठकले धरानसहित ३२ स्थानीय तहमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सोमबार जानकारी दिएका हुन् । बराह ग्रुपको २५ औं बार्षिकोत्व तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने,‘धरानको लागि खुशीको कुरा पनि छ, वडा नं ६ मा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय भएको छ ।’

मन्त्री यादवले उक्त औद्योगिक ग्राममा साना तथा मझौला किसिमका उद्योगहरु खोल्न सकिने पनि बताए । सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम बनाउने उद्घोष गरेअनुसार ३२ वटामा ग्राम निर्माण गर्ने निर्णय गरेको थियो । असोज ७ गते भएको निर्णयअनुसार १ नं प्रदेशमा भने धरान मात्र परेको छ । अब सरकारले ग्रामको लागि घेराबारा, पानी, विजुली र बाटो निर्माण गर्न बजेट दिने मन्त्री यादवको भनाई छ ।

धरानमा औद्योगिक ग्राम बनाउन २० बिघा जग्गा संरक्षण गरिएको धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । त्यहाँ साना खालका उद्योगहरु स्थापना गरेर आर्थिक उपार्जन गर्ने र रोजगारी सृर्जना हुने उनले अपेक्षा व्यक्त गरिन् । ‘हामीले खोलाको उकास भएको २० बिघा ऐलनी पर्ति जग्गा संरक्षण गरेर राखेका छौं, त्यहाँ नै ग्राम बनाउने हो,’उनले भनिन्,‘१ नं प्रदेशमा धरान मात्र परेको छ, यो खुशीको कुरा हो ।’