धरान : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६ औं संस्करणको फाइनलमा प्लानिङ ब्वाइज युनाइटेडले साबिक उपबिजेता चर्च ब्वाइज युनाइटेड विरुद्ध शनिबार प्रतिस्पर्धा गर्ने भएको छ ।
धरान–१६ स्थित धरान रंगशालामा हुने प्रतिस्पर्धात्मक खेलमा दुवै टिमको दाबी छ । शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरका हुन ।
दुवै कप्तान र प्रशिक्षकले एक अर्कामा परिचित टिम भएकाले एकले अर्कोलाई कमजोर नआँक्ने बताए । एन्फाले प्रतियोगिता जुधाएकै कारण दुबै टिमका खेलाडी केही खेलाडीको धरान–पोखरा–बिर्तामोड दौडधुपको कारण उत्कृष्ट प्रदर्शनमा केही कमी आउने दुबै टिमका प्रशिक्षक तथा खेलाडी स्वीकार छन ।
एउटै क्लबबाट दुई वटा टिम बनाएर झापा र बुढासुब्बा गोल्डकपमा सहभागी चर्च ब्वाइज झापाबाट बाहिरिसकेकाले उसको ध्यान बुढासुब्बा गोल्डकपको उपाधी जित्नमा रहेको प्रशिक्षक सुमन श्रेष्ठले बताए ।गतबर्षको उपबिजेता समेत रहेकाले उच्च मनोबलका साथ प्रतिष्पर्धा गर्ने कप्तान मिलन राईको भनाई छ ।
उता डिफिन्डिङ च्याम्पियन क्लब एनआरटीलाई पहिलो खेलमै पराजित गरेकाले आफूहरुको मनोबल उच्च रहेको प्लानिङ ब्याइजका प्रशिक्षक संञ्जित सिंहले बताए । केही खेलाडीहरु चोटका कारण समस्या रहेपनि रणनीतिक तरिकाले खेलेर फाइनल जित्ने कप्तान फागुराम थारुले बताए ।
जारी गोल्डकपको पहिलो सेमीफाइनलमा प्लानिङ ब्वाइजले पोखराको लालीगुराँस एसोसिएसनलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएको हो । अन्तिम सेमीफाइनलमा झापा ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधी नजिक पुगेको हो । फाइनल खेलको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख हात पार्नेछन ।
सर्वोत्कृष्ट खेलाडीलाई होन्डाको स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैया तथा सर्वाधिक गोलकर्ताले नगद ३५ हजार रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ ।


































































