धरान : कवि हृदयका युवा पनि द्वन्द्वकालमा माओवादीको बन्दुक लिएर लडाकु बनेका थिए, कवि गीलु रातोस यसको उदाहरण बनेका छन् ।

गएको मङ्सिरमा प्रकाशित उनको कविता सङ्ग्रह ‘सिलीदुङ’ कविता सङ्ग्रहको शनिवार आयोजित विमर्श कार्यक्रममा प्रसिद्ध कवयत्री कुन्ता शर्माले भनिन् ‘तपाईँले बोक्नु भएको बन्दुकले तपाईँलाई समाजमा चिनाएन तर, तपाईँले लेख्नु भएको कविताले तपाईँलाई कविको रूपमा अमर बनाउने छ ।’

कवि गिलु रातोसको १३७ कविताहरूको सङ्ग्रहका बारेमा युवाहरूको साहित्यिक संस्था कलरव धरानले विमर्शको आयोजना गरेको हो ।

वरिष्ठ कवि बम देवानले रातोसका कविताहरूमा मार्क्सवादी सौन्दर्य चिन्तन रहेकाले ‘सिलीदुङ’ कविता सङ्ग्रह प्रगतिशील साहित्यको फाँटमा नयाँ अध्यायको रूपमा आएको बताए ।

उनले भने ‘जातीय अस्तित्व स्थापित नभए सम्म मुलुकको समस्या समाधान नहुने कुरा कविताहरूमा मिथक, विम्ब मार्फत प्रकट गरिएको छ ।’

लेखक जनकऋषि राईले कवि गिलु रातोसका कविताहरू पहिचानवादी साहित्य भएको बताए । पछिल्लो समय नेपाली साहित्यमा आएको पहिचान साहित्यको लहरमा उनको कविता सङ्ग्रहले नयाँ गति दिएको उनको भनाई थियो ।

सहजकर्ता कवि अमित थेबेले सङ्ग्रहका कविताहरूमा कम्युनिष्ट राजनीति र पहिचान पक्षधरता प्रकट गरेको पाइने बताउँदै विमर्शमा कवि रातोस र वक्ताहरूलाई प्रश्नहरू गरेका थिए ।

कवि गिलु रातोसले पहिचानको सवालसँग मार्क्सवाद जोडिएको बताउँदै आफ्ना कविताहरूमा त्यसैको प्रकटीकरण भएको स्पष्ट गरेका थिए ।