इटहरी : कोशी प्रदेश सभामा आगलागी भएपछि विराटनगरको वीरेन्द्र सभागृहमा प्रदेशसभा सञ्चालनको तयारी भइरहेको छ । प्रदेश सभा सचिवालय र प्रदेश सभा भवनमा आगलागी भएपछि नयाँ भवन खोज्ने क्रममा सभा गृहलाई उपयोग गर्ने योजना बनेको हो ।

विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको सभागृहलाई दैनिक कम्तीमा ७५ हजार बुझाउनुपर्ने भएको छ । दैनिक ७५ हजार भनेको वार्षिक रूपमा २ करोड ७३ लाख ७५ हजार हो । जुन विराटनगर महानगरपालिकाको लागि आन्तरिक आम्दानीको रूपमा रहने भएको छ । 

प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी सहितको समितिले सभागृहलाई उपयुक्त ठहर्‍याएपछि प्रक्रिया अगाडी बढेको हो । भवनको उपयुक्तताको आधारमा महानगरपालिका र प्रदेश सरकार बिच सम्झौताको तयारी भइरहेको छ ।

कोशी प्रदेशसभाका कायममुकायम सचिव गौतमराज अमात्यका अनुसार अब सभागृहबाटै प्रदेश सभाका गतिविधि सञ्चालन हुने भएको छ । स्थलगत अध्ययन गर्दा वीरेन्द्र सभागृह उपयुक्त रहेको पाइएको र समितिले समेत उचित भनेको कारण निर्णय गरिएको उनले बताए । विकल्पको रूपमा रहेको कटहरिमा रहेको तरकारी बजारलाई प्रयोग गर्ने तयारी भएपनि अन्तिममा सभा गृहमा नै प्रदेशसभा सञ्चालन गर्ने लागिएको छ ।

विराटनगरमा महानगरपालिकाले कोशी प्रदेश सरकार समेतको सहयोगमा झन्डै २५ करोड लगानीमा सभागृह पुनर्निर्माण गरेको थियो । जेनजी आन्दोलनमा केही युवाहरूको प्रयासबाट बचेको सभागृहले प्रदेश सभा धान्ने भएको छ ।