धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियम विपरीत निजी क्लिनिक सञ्चालन गरेका मेडिसिन विभाग प्रमुख डा.रविन मास्के सहित संलग्न चिकित्सकलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद संग्रौलाले शुक्रवार उक्त जानकारी दिएका हुन । कपुरी सहितका सञ्चार माध्यममा प्रकाशित समाचारको आधारमा उनले उनीहरूसँग स्पष्टीकरण मागेका हुन । रजिष्ट्रार संग्रौलाले भने, ‘पत्र मैले आफैँ पठाएको हुँ, तीन दिनभित्र स्पष्टीकरण नआए कानुन अनुसार कारबाही हुनेछ, नियम विपरीत काम गर्ने कसैलाई छुट दिइँदैन ।’

गेट बाहिरै क्लिनिक सञ्चालन

प्रतिष्ठानमा पूर्णकालीन सेवाका डा. मास्केले धरान-१८ बुद्ध चोक एमसी क्याफे माथिल्लो तलामा ‘तिरुपति रिसर्च एण्ड डायग्नोस्टिक सेन्टर’ सञ्चालन गरिरहेको कपुरी सहितका मिडियामा प्रकाशित भएको थियो ।

स्रोतका अनुसार डा. मास्केसँगै बिपीका डा.अभिनास राई र डा.रञ्जित दास पनि क्लिनिकमा संलग्न संलग्न छन् । डा. मास्केले बिपीमा उपचारका लागि आएका बिरामीलाई क्लिनिकमा बोलाउने, त्यहाँ उपचार गर्ने र ल्याब तथा मेडिकल सामग्री खरिद गर्न लगाउने गरेको बिरामीहरूले बताएका छन् ।

उनी बिहान करिब १० देखि ११ बजेतिर मात्र प्रतिष्ठानमा उपस्थित हुने र ड्युटी अवधिमै क्लिनिक आवतजावत गर्ने गरेका छन् ।

नियममा स्पष्ट प्रावधान

बिपी प्रतिष्ठानको नियमावली २०५५ अनुसार, प्रतिष्ठानका शिक्षक वा कर्मचारीले आफ्नो कार्यालय सम्बन्धित काम बाहेक प्राइभेट प्राक्टिस, ट्युसन वा कुनै वैतनिक अवैतनिक काम गर्न पाउँदैन । डा. मास्केले उक्त प्रावधान उल्लङ्घन गर्दै प्रतिष्ठानको गेटभन्दा करिब २०० मिटर अगाडि निजी क्लिनिक सञ्चालन गरेका हुन् ।

कारबाहीको तयारी

रजिष्ट्रार संग्रौलाका अनुसार, विभागीय प्रमुख डा. मास्केले मङ्गलवार भित्र स्पष्टीकरण नदिए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने छ ।