धरान : नेपाल संवत्का सुरुआतकर्ता राष्ट्रिय विभूति शंखधर शाख्वाको स्मृतिमा नयाँ वर्ष ११४६ को पहिलो दिन मङ्गलवार धरानका १३ जना पलिखे दाजुभाइ सम्मानित भएका छन् ।

उनीहरूलाई झीगु समाज धरानले शङ्खधर साख्वा जस्तै परोपकारी कार्य गरेको भन्दै सम्मानित गरेको हो । सम्मानितहरूमा महेश मोहन पलिखे, भरत मोहन पलिखे, मनमोहन पलिखे, शङ्कर मोहन पलिखे, ४ जना नातिहरू छन् ।

प्रमुख अतिथि कोशी प्रदेशका सभासद् यशोदा कायस्थले उनीहरूलाई दोसल्ला ओढाई सम्मानित सम्मान गरेकी हुन ।

पलिखे दाजुभाइ, नातिहरू समेतबाट अजाअजी स्वर्गीय सिद्धिमान पलिखे/गङ्गालक्ष्मी पलिखेको स्मृतिमा धरान-७ स्थित करोडौँ मूल्यको करिब ८ कट्ठा १२ धुर जग्गा सिद्धि नेवा: परिषद्को नाममा दान गरेका थिए ।

यसअघि नेपाल संवत् नयाँ वर्षको अवसरमा झाँकी सहित सिद्धि नेवा: देखि सुरु भएको र्याली भानुचोक हुँदै छाता  चोक, सिंहदेवी चोक भएर चिनियाँ चोकमा पुगेर राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिकमा माल्यार्पण गरिएको थियो ।

शङ्खधर साख्वाले वि.सं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् सुरुवात गराएका थिए । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नेपाल संवत् लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

नेपालमा मौलिक संवत् चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । वि.सं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश सांसद द्वय रमेश बस्नेत, विजय राई, धरान–३ वडाध्यक्ष विद्या शाक्य, सुनसरी उद्योग वाणिज्य सङ्घ अध्यक्ष गोपाल श्रेष्ठ लगायतका नेवार जातीका विभिन्न खल पुचका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मोहनकाजी श्रेष्ठले गरेका थिए ।