नेपाल अहिले एउटा गम्भीर राजनीतिक सङ्क्रमणको चरणमा उभिएको छ-जहाँ न नेतामा विश्वास बाँकी छ, न प्रणालीमा भरोसा । जनताले बारम्बार गरेका परिवर्तनका आन्दोलनहरू, सत्ता परिवर्तनका चक्रहरू र नयाँ पुस्ता प्रति राखिएको आशा, क्रमशः अविश्वास र निराशाको दलदलमा डुब्दै गएको देखिन्छ ।
आजको राजनीतिक परिदृश्य नियाल्दा जनमानसमा “कसैको विश्वास गर्न सकिँदैन” भन्ने धारणा तीव्र रूपमा फैलिँदै गएको छ । जनताको भावनालाई साधन बनाउने, नारा र भाषणमा क्रान्ति बोकेका पात्रहरू पनि व्यवहारमा त्यही पुरानै सत्तालिप्सु प्रवृत्तिमा लिप्त देखिन थालेका छन् । स्वच्छ छवि र स्वतन्त्र चरित्रका रूपमा उदाएका केही राजनीतिक व्यक्तित्वहरूको भित्री चालढालले त जनताको आशालाई झनै धक्का पुर्याइरहेको छ ।
यसै सन्दर्भमा पछिल्ला वर्षहरूमा “स्वतन्त्र” राजनीति भन्ने नयाँ अवधारणा उठेको छ । पुराना दलहरूको विफलताबाट निराश जनताले वैकल्पिक राजनीतिक शक्ति खोज्दै स्वतन्त्र उम्मेदवार र स्वतन्त्र समूहहरूलाई समर्थन गर्न थाले । तर समयसँगै यिनै समूहहरूमा पनि स्वार्थ, अहङ्कार र आन्तरिक विभाजनको विष मिसिन थाल्यो । जनताको विश्वासले उचालेर सिंहदरबारसम्म पुर्याइएका व्यक्तिहरूको चालचलन र भाषाले अब त्यसै जनतालाई नै निराश पार्न थालेका छन् ।
यो प्रवृत्ति कतिपय अवस्थामा “लेन्डुप दोर्जे प्रवृत्ति” सँग तुलना गर्न सकिन्छ अर्थात्, बाह्य शक्ति वा व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय स्वाभिमान र जनविश्वास बेच्ने प्रवृत्ति । इतिहास साक्षी छ, यस्तो प्रवृत्तिले कहिल्यै पनि राष्ट्रलाई बलियो बनाउँदैन, बरु विदेशी स्वार्थका लागि ढोका खोलिदिन्छ ।
नेपाल दुई शक्तिशाली छिमेकी राष्ट्र भारत र चीनको बिचमा रहेको संवेदनशील भूराजनीतिक अवस्थासँग बाँधिएको छ । यस भौगोलिक अवस्थाले नेपाललाई अवसर पनि दिएको छ र चुनौती पनि । अमेरिकाको “इन्डो-प्यासिफिक रणनीति (IPS)”, भारतको दक्षिण एसियाली प्रभाव विस्तार र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) जस्ता नीतिहरूबिच नेपाल निरन्तर सन्तुलन खोज्ने प्रयासमा छ ।
नेपालले विगतमा “फ्री तिब्बत अभियान” लाई निस्तेज पार्दै आफ्नो सार्वभौमिकता कायम राख्न सफल भएको थियो , तर अहिले पुनः विदेशी हस्तक्षेपका आभासहरू तीव्र रूपमा देखिन थालेका छन् । भारत र अमेरिकाले नेपालको राजनीतिक नेतृत्वमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव जमाउने कोसिस गरिरहेका छन् भन्ने जनचासो बढ्दो छ । नेपाललाई “कुरुक्षेत्र” बनाउने प्रयत्नलाई रोक्न सक्ने कूटनीतिक साहस आज पनि आवश्यक छ तर त्यो साहस गर्ने नेतृत्व र पीढी अहिले कहाँ छ ? यही प्रश्नले आजको राष्ट्रवादलाई तिखो परीक्षामा पारेको छ।
आज नेपाली जनता परिवर्तन चाहन्छन्, तर विवेकपूर्ण परिवर्तन । आन्दोलन, चुनाव र नाराहरूले मात्र देशको मुहार फेर्न सक्दैनन् । आवश्यक छ - पारदर्शी नेतृत्व, इमानदार चरित्र र दीर्घ दृष्टि भएको राजनीतिक सोचकाे ।
हालको समस्या नेताहरूमा मात्रै होइन, जनमानसको सोचमा पनि छ । भावनाले होइन, विवेकले निर्णय गर्ने समय आएको छ । “माहुरीको सङ्गत गरे सुगन्धको बास, झिङ्गाको सङ्गत गरे फोहोरको बास” भन्ने नेपाली उखान यतिखेर झनै सान्दर्भिक बनेको छ । जनताले गलत संगतका नेताहरूलाई निरन्तर उचालिरहे भने, मुलुकको दिशानिर्देशन पनि फोहोर प्रवृत्तिद्वारा नै निर्देशित हुनेछ ।
नेपालको भविष्य अहिलेका परिवर्तनकारी नयाँ पुस्ताका युवाहरूको काँधमा टेकेको छ तर ती युवाहरू पनि राजनीतिक गुटबन्दी, विदेशी चासो र अवसरवादी सोचमा फस्न थाले भने राष्ट्रको पहिचान सङ्कटमा पर्न सक्छ । नयाँ पुस्ताले पुरानो ढाँचाको अन्धानुकरण होइन, जिम्मेवार नागरिक चेतनाको अभ्यास गर्नुपर्छ ।
देशलाई कसैले दान, अनुदान वा सहायता दिएर बनाउने होइन आफ्नै श्रम, विचार र आत्मसम्मानले निर्माण गर्नुपर्छ । इतिहासले प्रमाणित गरेको छ, जुन देशका नागरिकले आफ्नो स्वाभिमान बेच्दैनन्, त्यस देशलाई कुनै शक्तिले झुकाउन सक्दैनन् ।
अन्त्यमा, नेपालको राजनीति अहिले दिशाहीन देखिए पनि समाधान असम्भव छैन । राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित र जनकल्याणलाई केन्द्रमा राख्ने चेतना विकास गर्न सके देशले पुनः स्थिरता र सम्मान पाउन सक्छ । बाह्य शक्तिहरूको दबाब र प्रभावबिच पनि नेपालले आफ्नो सन्तुलित अस्तित्व कायम राख्ने ऐतिहासिक जिम्मेवारी बोकेको छ।
अन्ततोगत्वा , यो देश कसैले “बचाइदिने” होइन - नेपाली जनताले नै आफ्नो विवेक, एकता र राष्ट्रप्रेमद्वारा बचाउनुपर्ने हुन्छ, जबसम्म जनताले आफ्ना प्रतिनिधि छान्दा उखानको अर्थ बुझ्दैनन्-“माहुरीको सङ्गत गरे सुगन्धको बास, झिङ्गाको सङ्गत गरे फोहोरको बास” तबसम्म यो देश विश्वासको सङ्कट र बाह्य खेलको मैदान बन्ने सम्भावना रहिरहन्छ । यसकारण सबै समुदाय, नागरिक समाज तथा देशको लागि भलो चाहने सम्पूर्ण नेपालीहरूले विवेकपूर्ण निर्णय गर्दै राष्ट्रवादी दृष्टिकोण र पारदर्शी नेतृत्वलाई नै प्राथमिकता दिनु अपरिहार्य छ ।