धरान : सुनसरी निर्वाचन क्षेत्र १ को प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामले धरानको राजनीतिमा असन्तुष्ट पक्षहरू विभाजीत हुँदा तेश्रो पक्षलाई फायदा देखिएको छ । निर्वाचन परिणामले झण्डै ४७ हजार ३६४ मत विपक्षमा रहेको देखाएको छ । तर ठुला राजनीतिक दलहरूप्रति असन्तुष्ट त्यति धैरै मत एकै ठाउँमा एकीकृत नहुँदा हर्क साम्पाङ विजयी भएका देखिएको छ ।
निर्वाचनको अन्तिम परिणाम अनुसार हर्क साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय हासिल गरे । अन्य प्राप्त मतको तथ्याङ्क हेर्दा ठुलो सङ्ख्यामा मत विभिन्न उम्मेदवारहरूबिच बाँडिएको देखिन्छ । ठुला दलहरूप्रति असन्तुष्ट मत बाँडिँदा त्यो निर्णायक शक्ति बन्न सकेन ।
ठुला दल भनाउँदाहरु र अन्य ससाना पक्षको आआफ्नो जनमत र राजनीतिक आधार सुरक्षित गर्ने प्रयासले अन्ततः असन्तुष्ट मत विभाजित भएको हो । धरानको असन्तुष्ट मत एकीकृत गर्न राजनीतिक अभियन्ता ताजुब लिम्बुले धरानका राजनीतिक दलहरूबिच एकता कायम गराउने प्रयास सफल हुन नसकेको बताए ।
उनले भने, “दलहरूलाई एक ठाउँमा ल्याउन मैले धेरै प्रयास गरेँ, तर मेरो प्रयास सफल हुन सकेन। यदि धरानका दलहरू एकजुट भएका भए यहाँका धेरै समस्या सहज रूपमा समाधान हुन सक्थे ।”
लिम्बुले दलहरूबिच एकता नहुँदा धरानका साझा मुद्दामा सामूहिक रूपमा आवाज उठाउने अवस्था कमजोर भएको छ। यसले गर्दा संसद्मा पनि धरानको पक्षबाट एकीकृत र बलियो आवाज उठ्न नसक्ने चिन्ता उनले व्यक्त गरे ।
ताजुबको भनाई छ “अब संसदमा एकतर्फी आवाज मात्र गुन्जिने सम्भावना बढेको छ, यसले धरानका जनताले भोगिरहेका समस्या र दुःख समाधान गर्न थप कठिन हुने खतरा देखिन्छ ।”
दलहरूको विभाजनले बदलियो समीकरण
धरानको राजनीतिमा लामो समयदेखि ठुला दलहरूको प्रभाव रहे पनि पछिल्ला वर्षहरूमा दलहरूबिचको आन्तरिक विवाद, नेतृत्व प्रतिस्पर्धा र समन्वय अभावले उनीहरूको प्रभाव घट्दै गएको देखिन्छ । यही विभाजनका कारण मतदाताको असन्तुष्टि अझ स्पष्ट रूपमा देखिएको हो ।
यदि असन्तुष्ट मत एकीकृत भएको भए निर्वाचन परिणाम फरक हुन सक्ने सम्भावना पनि रहेको विश्लेषण गरिएको छ । तर ठुला भनाउँदा दलहरूको आन्तरिक गुटबन्दी, नेतृत्वको मपाइत्व र चुनावको बेला टिकटको प्रतिस्पर्धाका कारण चुनावी समीकरण बन्न नसकेको बुझिएको छ ।
धरानको राजनीतिक यथार्थ
सुनसरी–१ को यो परिणामले धरानका मतदाता परम्परागत दलप्रति असन्तुष्ट हुँदै गएको र वैकल्पिक नेतृत्वलाई अवसर दिन तयार देखिएको सन्देश दिएको
छ । तर राजनीतिक दलहरूबिचको विभाजन र मतको विखण्डनले धरानको भविष्यको राजनीतिक दिशा कता जाने भन्ने प्रश्न भने अझै खुला नै रहेको छ ।
धरानका मतदाताले विगतमा जसप्रति असन्तुष्टि व्यक्त गरेका थिए, अहिले फेरि त्यही नेतृत्वको शासन भोग्नुपर्ने अवस्था बनेको टिप्पणी हुन थालेको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार धरानमा विधि, विधान र नियमलाई कमजोर बनाउने प्रवृत्तिप्रति जनतामा असन्तुष्टि रहँदै आएको थियो। तर पछिल्लो चुनावी परिणाम र राजनीतिक विभाजनका कारण धराने जनताले फेरि पनि त्यही शैलीको शासन बेहोर्नुपर्ने अवस्था सिर्जना भएको बताइन्छ ।
विशेष गरी दलहरूबिच एकता नहुनु, मत विभाजन हुनु र साझा मुद्दामा सामूहिक आवाज नउठ्न सक्नुका कारण धरानको राजनीतिक दिशा अपेक्षाअनुसार बदलिन नसकेको विश्लेषण गरिएको छ ।
यस परिस्थितिले धरानका नागरिकले भोगिरहेका समस्या समाधान हुने कि अझ जटिल बन्दै जाने भन्ने प्रश्न भने अझै खुला नै रहेको टिप्पणी पनि हुन थालेको छ। धराने हिजो जोसँग जनता सन्तुष्ट थिएनन् । तर पनि उहीँ शासन भोग्न बाध्य रहेका छन् ।