धरान : कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि २ लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।

निर्णायक समितिको सिफारिसमा अनुसार बस्नेतको उपन्यास ‘सिमसारा’ लाई पुरस्कृत गर्ने निर्णय गरिएको पुस्तकालय सञ्चालक समितिले सोमबार प्रेस विज्ञप्ति मार्फत जनाएको हो ।

पुस्तकालय अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार कृति पुरस्कारका लागि आव्हान गरे अनुसार स्वदेश तथा विदेशका नेपाली भाषी लेखक, साहित्यकार, सर्जकहरूबाट १०४ कृति प्राप्त भएका थिए । प्राप्त कृतिहरूमध्येबाट श्रेष्ठ १० कृति छनौट गरिएको थियो । ती मध्येबाट सिमसारा उपन्यास पुरस्कारका निम्ति चयन गरिएको हो ।

पुरस्कार कात्तिक १९ गते ३४ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औँ जन्म जयन्तीको अवसरमा प्रदान गरिने छ ।विज्ञप्ति अनुसार ‘सिमसारा’उपन्यास पूर्वी नेपाल इलाम चारखोलको कथा हो । एक परिवार विघटनको कथा बुनिएको छ । घरको मूल खाँबो अर्थात् घरमुलीले आफ्नी पत्नीप्रति आकर्षण नदेखाएपछि पत्निमा रुमल्लिएको जीवनको अत्यासलाग्दो यात्रा, बाबु-आमाबिचको बेमेलले उनीहरूको सन्तानलाई बारम्बार लागिरहने बाछिटा उपन्यासका मूल विषय हुन् ।

यसअघि बेलायतका नरेश काङमाङको कविता सङ्ग्रह ‘तेप्लायु’ भारत दार्जिलिङका विजय कैलाशी राईको आख्यान ‘मित्याङ्सा’ गोरखाका चन्द्र गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ र इलामका प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह ‘शव्दथुम’ लाई सो पुरस्कार प्रदान गरिएको थियो ।