धरान : धरान–१५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुलले यस वर्ष पनि खुला अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता ‘हिविस्कस क्विज मेनिया सिजन–४’ आयोजना गर्ने भएको छ।
प्रतियोगिता आगामी पुष ९ र १० गते विद्यालय परिसरमै हुने विद्यालयले जनाएको छ। विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराउँदै यस पटकको प्रतिस्पर्धा नेपालभरका करिब १५० विद्यालयबिच हुने अपेक्षा गरिएको बताए।
प्रतियोगितामा विजेता टोलीलाई नगद २० हजार रुपैयाँ, उपविजेता लाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, तेस्रो, चौथो र पाँचौँ स्थानका टोलीहरूलाई क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। साथै, सान्त्वना पुरस्कार स्वरूप २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।
प्रतियोगिताको पहिलो दिन हुने प्रारम्भिक चरणबाट छनोट भएका छ वटा टोलीले दोस्रो दिन अर्थात् पुष १० गते हुने फाइनल प्रतिस्पर्धामा भाग लिनेछन्।
विद्यालयले सन् २०७९ सालदेखि यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको हो। पहिलो वर्ष हिविस्कस स्कुल स्वयं विजेता बनेको थियो भने दोस्रो वर्ष नेपाल पुलिस स्कुल र गत वर्ष पुनः हिविस्कस स्कुल नै विजेता बनेको थियो। गत वर्षसम्म जिल्ला स्तरीय रूपमा सीमित यो कार्यक्रम यस पटक खुला प्रदेशस्तरीय प्रतियोगिताको रूपमा विस्तार गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार, प्रतियोगिताका प्रश्नहरू खरीदार तहको पाठ्यक्रमका आधारमा तयार पारिनेछन्। विद्यालयका शिक्षक सुवास मोक्तानको संयोजकत्वमा गठन गरिएको आयोजक समितिमा विकास साह सह–संयोजक, नयनराज राई जनसम्पर्क तथा समन्वय, मनिष श्रेष्ठ प्राविधिक संयोजक र भोला श्रेष्ठ सञ्चार संयोजक रहेका छन्।
विद्यालयले विगतदेखि नै शिक्षा, अनुशासन र नैतिकताको त्रिभुजमा आधारित शिक्षण पद्धति अपनाउँदै आएको र सोही परम्पराको निरन्तरतामा यो प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ। विद्यालयको भनाइअनुसार, यस प्रतियोगिताबाट विद्यार्थीको बौद्धिक क्षमता, विश्लेषणात्मक सोच र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

































































